बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद रहेका सभामुख पाठकले बुधबार उपसभामुख अप्सरा चापागाईँलाई राजीनामा बुझाएका हुन्।
‘गत भाद्र २३ गते जेन–जीको भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भाव विह्वल भएँ,’ राजीनामा पत्रमा पाठकले लेखेका छन्, ‘राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्मामा लाग्यो र भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ।’ प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न तत्काल अनुकूल नभएकाले ‘आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदवाट राजीनामा’ गरेको उनले लेखेका छन्।
संघीयताको विरोध गर्दै आएको राप्रपाबाट सभामुख भएको भन्दै पाठकको यसअघि आलोचना पनि हुने गरेको थियो।
प्रकाशित: १ आश्विन २०८२ १४:४२ बुधबार





