४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

अन्तत: दलहरू निर्वाचनमा भाग लिन तयार

समानुपातिकको बन्दसूची बुझाएसँगै हट्यो निर्वाचन नहुने संशय

जेनजी आन्दोलनपछि बनेको सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा भाग लिन दलहरू तयार भएका छन्। निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची बुझाएसँगै दलहरू निर्वाचनमा सहभागी हुन तयार भएको देखिएको हो। 

समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन सोमबार निर्वाचन आयोगमा दलका नेता–कार्यकर्ताको भिड नै लागेको थियो। आयोगका कर्मचारीहरूले बन्दसूची दर्ताका क्रममा राति अबेरसम्म काम गरे। विघटित संसद्का ठुला–साना तथा नयाँ खुलेका सबैजसो दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन्।

प्रतिनिधिसभाको पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पुगेका ठुला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले पनि समानुपातिकको सूची लिएर आयोगमा पुगेपछि निर्वाचन नहुने संशय टरेको छ। यद्यपि उनीहरूले सुरक्षाको वातावरण नभएको बताउन भने छाडेका छैनन्।

विघटित संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाएको छ। निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाभित्रै कांग्रेसले बन्दसूची बुझाएको हो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि जारी कार्यसम्पादन समितिको बैठकले यसअघि समानुपातिकमा नपरेका नेतालाई समावेश गरेर सूची बुझाएको छ। पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई आदिवासी जनजातितर्फको पहिलो नम्बरमा राखेको कांग्रेसले अर्जुननरसिंह केसीलाई खस आर्यतर्फबाट पहिलो नम्बरमा राखेको छ। अघिल्लो निर्वाचनमा पराजित आङ्देम्बलाई कांग्रेसले यस पटक समानुपातिक सूचीमा समेटेको हो।

त्यस्तै नुवाकोटका नेता केसीले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए। विघटित प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीको नाम पनि कांग्रेसले समावेश गरेको हो। यसअघि समानुपातिकमा नपरेका र केन्द्रीय समितिमा रहेका नेतालाई प्राथमिकतामा राखेको कांग्रेसले नयाँ अनुहारलाई समेट्ने प्रयास गरेको छ।

विगतको निरन्तरतालाई क्रमभंग भएको जनाउँदै एक नेताले भने, ‘विगतमा पार्टीमाथि लाग्ने गरेको आरोपबाट यस पटक मुक्त हुने प्रयास भएको छ।’ यसअघि अवसर नपाएकाहरूलाई समेटेर बन्दसूचीको तयारीमा जुटेको कांग्रेसले प्रदेशअनुसार पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी दिएर नाम छनोट गरेको कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार कलस्टरको अन्तिम सूची भने आयोगले निर्धारण गरेको सीमाभित्र बुझाउने एक नेताले जानकारी दिए।

यसैगरी नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ। केन्द्रीय सदस्य निरज आचार्य बन्दसूची बोकेर आयोग पुगेका थिए। सूचीमा उपाध्यक्ष रामबहादुर थापा बादल, पूर्वउपाध्यक्ष गुरु बराल, सचिव पद्मा अर्यालदेखि जेनजी पुस्तकी निता घतानीसम्म रहेको एमालेका एक नेताले बताए। सूचीमा नयाँबाट क्रान्ति बुर्लाकोटी, भूमिका सुब्बालगायत परेका छन्। लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, स्थायी कमिटीका पूर्वसदस्य गोरखबहादुर बोगटी पनि सूचीमा समेटिएका छन्।

त्यस्तै पुराना नेताबाट रामेछापका राजकुमार श्रेष्ठ पनि समेटिएका छन् भने टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी, अनिता कन्दङ्वा पनि बन्दसूचीमा छन्। पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना प्रतिनिधित्वमा परेका छन्। अपांगता भएका समुदायबाट स्याङ्जाका रामबहादुर थापा र यसुदा बराल परेका छन्। दलितबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पौडेल, निर्मल दउला, जितु गौतमलगायत छन् भने अल्पसंख्यकमा रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत छन्।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ। नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डेसहितको टोलीले सोमबार साँझ निर्वाचन आयोगको समानुपातिक सूची बुझाएको थियो। यसअघि अवसर पाएका नेता तथा कार्यकर्तालाई समानुपातिकमा नराखिएको पाण्डेले बताए। निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एक सय १० जनाको सूची पेस गरेको जानकारी दिए। आदिवासी जनजाति, महिला, दलित, मधेसी, थारु र खस आर्य सबै क्लस्टरमा संविधान र निर्वाचन कानुनले व्यवस्था गरेअनुसार उम्मेदवार बनाइएको जानकारी दिए।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) साह, ऊर्जामन्त्री कुलमान घिसिङलाई समेटेर जेनजी पुस्ताको प्रतिनिधिका रूपमा उभिन खोजेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रिइलेक्सनको नतिजा सार्वजनिक गरेर निर्वाचन आयोगमा बुझाएको छ। सार्वजनिक नतिजा अनुसार पहिलो नम्बरमा १८ हजार २२३ मत प्राप्त गरेका रमेश प्रसाईं, दोस्रोमा प्रमोद न्यौपाने १४ हजार १६७ मत प्राप्त गरेर समानुपातिकको बन्द सूचीमा कैद भएका छन्। तेस्रोमा रहेकी रञ्जु दर्शनाले १३ हजार ५५१ मत प्राप्त गरेकी थिइन्। त्यसपछि क्रमशः टीका संग्रौला (ज्वाला), लिमा अधिकारी, समीक्षा बास्कोटा, विपीनकुमार आचार्य, क्रान्ति शिखा धिताल, प्रतिभा रावल समेटिएका छन्।

आदिवासी जनजातितर्फ मतका आधारमा उत्तमबहादुर गुरुङ पहिलो नम्बरमा परेका छन्। त्यसपछि क्रमशः सत्यकला राई, टासी लाजोम,  मिलन लिम्बू निर्वाचित भए। दलिततर्फ  पहिलो नम्बरमा विजय जैरु परे। त्यसपछि क्रमिक रूपले अमृता विक, सविना विश्वकर्मा, स्मृति सेन्चुरी, अनिता नेपाली, सीता विश्वकर्मा, डा. रुपक विश्वकर्मा, खिमा विक र चन्द्रकला विक निर्वाचित भए। मधेसीतर्फ पुनमकुमारी अग्रवाल पहिलो नम्बरमा छिन्। त्यसपछि डा. अंकिता ठाकुर, ममता शर्मा समेटिएका छन्। यस्तै थारुतर्फ प्रेमलाल चौधरी पहिलो नम्बरमा परे। त्यसपछि चुमन चौधरी, पुष्पाकुमारी चौधरी रहेका छन्। मुस्लिमतर्फ समिना मियाँ पहिलो नम्बरमा रहँदा त्यसपछि क्रमशः अख्तर हुसैन, मोहम्मद हसरत अली निर्वाचित भएका छन्। निर्वाचित सबैलाई समानुपातिकको बन्दसूचीमा राखेर बुझाइएको रास्वापाले जनाएको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो समानुपातिकको बन्दसूची टुंग्याएको छ। सोमबार भएको कार्यसम्पादन समिति बैठकले बन्दसूची टुंगो लगाएको हो। तीनवटा विषयमा भने मतदानबाट निर्णय लिनुपरेको थियो। खस आर्य पुरुषमा डा. प्रकाशचन्द्र लोहनीलाई पहिलो नम्बरमा राख्ने वा नराख्नेमा मतदान भएको थियो। जसमा लोहनीको विपक्षमा बहुमत आयो। यस्तै खस–आर्य पुरुष र जनजाति पुरुषको पहिलो तीन दाबेदारको टुंगो पनि मतदानबाट लगाइएको थियो। 

खस–आर्य महिलातर्फ भने खुस्बु ओली बन्दसूचीको पहिलो नम्बरमा परेकी छन्। यस्तै दोस्रो नम्बरमा स्वाती थापा छिन्। उनी राप्रपाका दिवंगत नेता दीपक बोहराकी नातिनी हुन्। तेस्रोमा देवकुमारी पराजुलीको नाम छ। जनजाति महिलामा धादिङकी सरस्वती लामा पहिलो नम्बरमा सिफारिस भएकी छन्। यस्तै खोटाङकी विजयकला राई दोस्रो र मकवानपुरकी सरस्वती थिङ तेस्रो नम्बरमा छिन्। मधेसबाट राप्रपा महामन्त्री प्रह्लाद साह सिफारिस भएका छन्।

यीबाहेक नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (नेपाल), समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी (नेपाल) ले सूची बुझाएका छन्। ४२ दलले बन्दसूची बुझाउन निस्सा लिएका थिए।

प्रकाशित: १५ पुस २०८२ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App