२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

समानुपातिक सांसदको नाम बुझाउन दलहरूलाई ३ दिनको म्याद

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट टुंग्याउँदै दलहरूलाई सांसदको नाम बुझाउन ३ दिनको समयसीमा तोकेको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनको सम्पूर्ण मतपरिणाम आएसँगै ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका ६ वटा दललाई उम्मेदवार छनोट गरी पेस गर्न आयोगले बिहीबार पत्राचार गरेको हो।

आयोगले निर्धारण गरेको सिट संख्याअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५७ जना सांसदको नाम पठाउनुपर्नेछ।

त्यस्तै, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६ र नेपाल कम्युनिस्ट पार्टीले ९ जनाको नाम सिफारिस गर्नुपर्नेछ। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४-४ जना सांसदको नाम बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (४), निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५ बमोजिम दलहरूलाई पत्राचार गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्राप्त पत्रका आधारमा दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट कानुनले तोकेको समावेशी क्लस्टर मिलाएर ३ दिनभित्र आयोगसमक्ष नाम पेस गर्नुपर्ने हुन्छ।

आयोगले बिहीबार नै मतदानको अन्तिम तथ्यांकसमेत सार्वजनिक गरेको छ। कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा ९६.०५ प्रतिशत अर्थात् १ करोड ८ लाख ३५ हजार ०२५ मत सदर भएको थियो।

यसैगरी, प्रत्यक्षतर्फ भने १ करोड ११ लाख ६८ हजार ०३२ मत खसेकोमा ९४.५५ प्रतिशत (१ करोड ५ लाख ५९ हजार ०१७) मत मात्र सदर भएको थियो।

प्रकाशित: २८ फाल्गुन २०८२ २०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App