१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

दलहरूको ध्यान स्थानीय चुनावतिर : जनता रिझाउन अभियानैअभियान

फागुनमै निर्वाचन गर्ने ढंगले सरकारले गृहकार्य अघि बढाएसँगै जनता रिझाउँदै दल

नेपाली कांग्रेस २.० का सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार पार्टीका सदस्यहरूले डिजिटल मतदानबाट तय गर्ने व्यवस्था विधानमा गरिएको बताएका छन्। पार्टीद्वारा सोमबार स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै थापाले अब त्यसलाई व्यवहारमा नै लागु गर्ने दाबी गरेका हुन्। ‘सूची तयार गरेपछि पनि विभिन्न तह बसेर फाइनल उम्मेदवार बनाउँछौं,’ उनले भने, ‘उम्मेदवार बनाउने कुरा हामीले दुईतीन महिना अगाडि टुंग्याउनुपर्छ।’

थापाले पार्टीका नेता तथा कार्यकर्ताको मतबाटै स्थानीय तहको उम्मेदवार छनोट गर्ने बताइरहँदा उनी नेतृत्वको नेपाली कांग्रेस २.० ले भने केही महिनाअघिदेखि नै स्थानीय तहको उम्मेदवार छनोट सुरु गरिसकेको छ। पार्टी केन्द्रीय कार्यालयबाहिरै कार्यालय राखेर सबै पालिकाको उम्मेदवार छनोटको गृहकार्य गरिरहेको एक पदाधिकारीले जानकारी दिए। पार्टीको निर्वाचन ब्युरोअन्तर्गत एउटा संयन्त्र बनाएर स्थानीय तहको उम्मेदवार छनोटको काम भइरहेको उनले जनाए।

‘बाहिर देखाउन विभिन्न प्रक्रिया पूरा गरिन्छ,’ ती पदाधिकारीले भने, ‘तीन/चार महिनादेखि कुन पालिकामा कसको अवस्था के छ र कसलाई उम्मेदवार बनाउने भन्ने काम भइरहेको छ। त्यसकै आधारमा पार्टीले पालिका प्रमुख, उपप्रमुखको उम्मेदवार टुंगो लगाउँछ।’ विशेष महाधिवेशन हुँदै महाधिवेशनसम्म आइपुग्दा नेता व्यवस्थापनका क्रममा दिइएको आश्वासनले पनि स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटमा प्रभाव पर्ने ती पदाधिकारीको दाबी छ। तथापि असोजको तेस्रो साता महाधिवेशन गरेको नेपाली कांग्रेस २.० ले बिहीबार पदाधिकारी र केन्द्रीय सदस्यको शपथ गराउने भएको छ। त्यसलगतै बस्ने केन्द्रीय समितिको बैठकले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै मंसिरमा एक महिने जागरण अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

आन्तरिक विवादले कांग्रेस स्पष्ट दुई धारमा विभाजित छ। थापासहित पछिल्लो पुस्ताले नेतृत्व गरेको कांग्रेसले महाधिवेशन सकाएको छ भने शेरबहादुर देउवासहितका नेताहरू रहेको अर्को समूहले मंसिरमा महाधिवेशन गर्ने भन्दै अहिले तल्लो तहको अधिवेशन गरिरहेको छ। अहिलेकै अवस्थामा सरकारले फागुन वा वैशाखमा स्थानीय तहको निर्वाचन गरे कांग्रेस दुई समूह भएर चुनावमा जाने निश्चितजस्तै छ। किनकि कांग्रेसको आधिकारिताको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। कांग्रेसले मात्र होइन अन्य राजनीतिक दलहरूले पनि स्थानीय तहको निर्वाचनको तयारी थालेका छन्।

सरकारले फागुनमै निर्वाचन गर्ने ढंगले गृहकार्य अघि बढाएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावलाई केन्द्रित गरेर दसैंअघि ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गरेर जनतासँग आफूलाई जोड्ने प्रयास गरेको छ। त्यससँगै रास्वपाले स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवार बन्न क्यान्डिडेट क्लब चलाइरहेको छ। त्यसबाटै उम्मेदवार छनोट गर्ने जनाएको रास्वपाले चाडपर्वलाई जनतासँग जोडिने माध्यमका रूपमा उपयोग गर्दै आएको छ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय तह निर्वाचन केन्द्रित अभियान सुरु गरेको छ। उसले ‘राष्ट्रिय जागरण अभियान’ नाम दिएर कात्तिक ७ देखि मंसिर २५ गतेसम्म जनतामा जाने निर्णय गरेको छ।

‘यो अभियान संगठन विस्तार र सुदृढीकरणका साथै राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकासम्बन्धी समस्या समाधान, पार्टीको रूपान्तरण तथा समाजवाद निर्माणको आधार तयार पार्ने उद्देश्यसहित सञ्चालन गरिँदै छ,’ संयोजक पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी अभियानमार्फत पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र तपाईंहरूकै टोलसम्म आउँदै छौं।’ किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसंख्यक समुदाय, फरक क्षमता भएका नागरिक, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवी, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्ने नेकपाले जनाएको छ।

त्यस्तै नेकपा एमालेले पार्टी संगठनलाई सक्रिय बनाउन मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। उसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन र त्यसपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि लिएको छ। सरकारले स्थानीय तह निर्वाचन तयारी थालेसँगै एमालेले सोहीअनुसार संगठन परिचालन रणनीति बनाउन पालिकास्तरीय अधिवेशन र राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ।

मधेस केन्द्रित राजनीतिक दलले पनि आफ्नो पुरानो शक्ति फर्काउन विभिन्न समूह बनाएर सक्रियता बढाएका छन्। हुँकार मधेससहितका विभिन्न समूह अहिले सक्रिय छन्।

प्रकाशित: १० कार्तिक २०८३ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App