१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्यका लागि सिफारिस माग

सरकारले राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का ६ सदस्य मनोनयनका लागि योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सूचना जारी गर्दै विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा योगदान पुर्‍याएका योग्य व्यक्तिहरूको नाम सिफारिस गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको हो।

मन्त्रालयका अनुसार नेपालको संविधानको धारा ११४ बमोजिम जारी भएको ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ मा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्को व्यवस्था गरिएको छ।

अध्यादेशको दफा ३ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने परिषद्ले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको उन्नयन र विकासका लागि नीतिगत तथा कानुनी सुधार, संस्थागत विकास, प्राथमिकता निर्धारण, समन्वय, सहजीकरण र स्रोत परिचालनसम्बन्धी नीतिगत मार्गनिर्देशन गर्नेछ।

परिषद्मा अध्यादेशको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम उपाध्यक्षको सिफारिसमा अध्यक्षले ६ जना सदस्य मनोनयन गर्ने व्यवस्था छ। मनोनयन हुने सदस्यमध्ये कम्तीमा दुई जना महिला हुनुपर्नेछ।

विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका प्राविधिज्ञ, इन्जिनियर, अनुसन्धानकर्ता, विशेषज्ञ र प्राज्ञका साथै प्रविधि, नवप्रवर्तन तथा उद्योग व्यवसाय क्षेत्रमा विशेष अनुभव हासिल गरेका व्यक्तिहरूमध्येबाट सदस्य मनोनयन गरिनेछ।

मन्त्रालयले परिषद्को सदस्य हुन योग्य र सक्षम व्यक्तिहरूको व्यक्तिगत विवरण (सीभी) सहितको सिफारिस सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ।

इच्छुक योग्य व्यक्तिहरूको नाम सिफारिस गर्दा व्यक्तिगत विवरणसहित मन्त्रालयको इमेल ठेगाना info@mosti.gov.np मा पठाउनुपर्नेछ। मन्त्रालयले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा कार्यरत प्रतिष्ठित व्यक्ति तथा संस्थालाई योग्य व्यक्तिहरू सिफारिस गर्न अनुरोध गरेको छ।

प्रकाशित: १० कार्तिक २०८३ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App