१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

रसुवामा बाढीपछिको उद्धार र पुनर्निर्माण तीव्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन

फाइल तस्बिर

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले रसुवामा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारलाई निर्देशन दिएको छ।  

समितिको बिहीबार बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा अझै फसेका नागरिकको तत्काल उद्धार गर्न तथा जोखिमयुक्त स्थान, विशेषगरी टनेल क्षेत्रमा स्वदेशी र विदेशी विज्ञको सहयोग लिन सरकारलाई आग्रह गरेको हो।

बाढीका कारण अवरुद्ध सडक, पुल र सञ्चार सम्पर्कलाई तत्काल सञ्चालनमा ल्याउन तुइन, झोलुंगे पुल तथा अस्थायी सडक निर्माणलाई प्राथमिकता दिन पनि समितिले निर्देशन दिएको छ।

त्यस्तै, विद्युत् सेवा नियमित गर्न र विद्युत् अवरुद्ध भएका क्षेत्रमा तत्काल आपूर्ति पुनःस्थापित गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरिएको छ। विद्युत् अभावका कारण मिल सञ्चालन हुन नसक्दा मकै, धानलगायत खाद्यान्न प्रशोधनमा समस्या परेको समितिले जनाएको छ।

समितिले क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि निजी क्षेत्र, विदेशी सरकार, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाबाट आर्थिक, प्राविधिक र उपकरण सहयोग जुटाउन सरकारलाई सुझाव दिएको छ।

जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका लागि बढी हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रसँग क्षतिपूर्ति माग गर्ने पहल गर्न पनि समितिले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

समितिका निर्णय सम्बन्धित मन्त्रालयमा लिखित रूपमा पठाइने सभापति आशिष गजुरेलले जानकारी दिए।

प्रकाशित: १८ भाद्र २०८३ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App