१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

सुदूरपश्चिममा बाढीको जोखिम: महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज बन्द

सुदूरपश्चिम प्रदेशका पहाडी भेग र तराईका जिल्लाहरूमा निरन्तरको वर्षासँगै आकस्मिक बाढीको जोखिम बढेपछि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले बिहीबार एक सूचना जारी गर्दै कञ्चनपुर, कैलालीलगायतका जिल्ला हुँदै बग्ने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने भन्दै आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

विशेषगरी महाकाली नदीमा पानीको सतह तीव्र रूपमा बढिरहेकाले नदी तटीय क्षेत्र तथा होचा भू-भागमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ।

सुदूरपश्चिमको पहाडी भेग र भारतको उत्तराखण्ड क्षेत्रमा भइरहेको निरन्तरको वर्षाका कारण महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको छ।

पानीको बहाव खतराको विन्दु नजिक पुगेपछि भारतीय पक्षले नेपाल-भारत जोड्ने बनबासास्थित शारदा ब्यारेज (पुल) मा सवारीसाधनको आवागमनमा रोक लगाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार आज बिहान महाकाली नदीमा पानीको बहाव १ लाख २० हजार ५८० क्युसेक मापन गरिएको छ।

‘महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ,’ डीएसपी रावतले भने, ‘पानीको बहाव १ लाख क्युसेकभन्दा कम भएपछि मात्रै पुनः आवागमन सञ्चालन हुनेछ।’

विपद्को जोखिमलाई मध्यनजर गर्दै बाढी पूर्वानुमान महाशाखाले सरोकारवाला निकायहरूलाई नदीको निगरानी बढाउन, स्थानीय तह र समुदायलाई बेलैमा सुचित गराउन र आवश्यक पूर्वतयारी थाल्न निर्देशन दिएको छ।

प्रकाशित: १८ भाद्र २०८३ १९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App