१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

चुनाव नभए संसद् पुनःस्थापना : कानुन व्यवसायी

कानुन व्यवसायी एवं विभिन्न संघसंस्थासम्बद्ध बुद्धिजीवीहरूले आगामी फागुन २१ गते निर्वाचन हुन नसके विघटित प्रतिनिधिसभा पुनः स्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रजातान्त्रिक विचार समाज नेपालले शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै वरिष्ठ अधिवक्ता एवं बुद्धिजीवीहरूले सुरक्षा व्यवस्थासहित निर्वाचनको वातावरण बने राजनीतिक दलहरू निर्वाचनबाट भाग्न नहुने धारणा व्यक्त गर्दै आगामी फागुनमा निर्वाचन हुन नसक्ने परिस्थिति सिर्जना भए संसद् पुनः स्थापना हुनुपर्ने धारणा व्यक्त गरे।

वक्ताहरूले तोकिएको समयमा निर्वाचन नभए मुलुक राजनीतिक अस्थिरताको दलदलमा फसी अनिश्चय र अन्योलको वातावरणसहित अकल्पनीय परिस्थिति सिर्जना हुनेतर्फ सचेत गराउँदै सम्भावित जोखिमबाट देशलाई जोगाउन पनि प्रतिनिधिसभा आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको अकल्पनीय एवं दुःखदायी घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनीहरूले त्यस किसिमको जघन्य एवं आपराधिक घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएकालाई कारबाही गर्न माग गरे। जेनजी आन्दोलनका क्रममा घुसपैठ भई लुटपाट, तोडफोड र आगजनी भएको चर्चा गर्दै वक्ताहरूले त्यस्तो अराजक गतिविधिमा संलग्न पक्षलाई कानुनको दायरामा ल्याउनुपर्नेमा उनीहरूको जोड थियो।

सो अवसरमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल र उपेन्द्रकेशरी न्यौपानेले पहिलो प्राथमिकता निर्वाचनलाई दिनुपर्ने र निर्वाचन हुन नसके राजनीतिक समाधानका लागि प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने धारणा राखे। समाजका पूर्वअध्यक्ष डा केदारनरसिंह केसीले शान्ति सुरक्षासहित निर्वाचनको वातावरण नबनिसकेको उल्लेख गर्दै सरोकार भएका राजनीतिक दलहरूसहित सबैलाई विश्वासमा लिई निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

यसैगरी समाजको अध्यक्ष कुलचन्द्र वाग्लेले नेपाली जनताको ठुलो त्याग, तपस्या र बलिदानबाट प्राप्त प्रजातन्त्रमाथि अहिले कालो बादल मडारिएको भनी चिन्ता व्यक्त गर्दै अप्ठ्यारो अवस्थामा पुगेको मुलुकलाई राजनीतिक निकास दिन विश्वासको वातावरणसहित सम्पूर्ण नेपालीबिच एकता हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, डेमोक्रेटिक लयर एसोसिएसनका अध्यक्ष सीताराम केसी र पूर्वअध्यक्ष योगेन्द्र अधिकारीले शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै राजनीतिक पार्टी निर्वाचनमा जान डराइरहेको र निर्वाचन प्रक्रियामा महत्त्वपूर्ण भूमिका हुने सुरक्षाकर्मीको मनोबल खस्केको अवस्थामा घोषित मितिमा निर्वाचन हुन नसकी देश अझै अप्ठ्यारोमा जाने हो कि भनी चिन्ता व्यक्त गरे।

सो अवसरमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आगामी फागुनमा निर्वाचन नभए देशमा थप अराजकता र अस्थिरताको अवस्था सिर्जना भई अभिव्यक्ति एवं प्रेस स्वतन्त्रतासमेत हनन हुनसक्ने आशंका व्यक्त गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका सचिव विष्णुप्रसाद पोखरेल र चिकित्सक संघका सचिव सञ्जीव तिवारी, डा बद्री रिजाल, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अर्थविज्ञ भुवनेश्वर भट्टराई, इञ्जिनियरसम्बद्ध संस्था सेडनका पूर्वअध्यक्ष लक्ष्मण केसी, इञ्जिनियरद्वय महेश्वर नरसिंह केसी र सुदर्शन शर्मा, प्रजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल र महासचिव वासुदेव भण्डारी, सल्लाहकार राजन कुइँकेल, पूर्वसदस्य एवं सञ्चारकर्मी सरोज अधिकारीलगायतका वक्ताले घोषित मितिमा निर्वाचन गर्न सबै एकजुट हुनुपर्ने त्यो सम्भव नभएमा विघटित प्रतिनिधिसभा पुनः स्थापना हुनुपर्नेमा जोड दिएका थिए। रासस 

प्रकाशित: १६ कार्तिक २०८२ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App