२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

संसद् विघटन बाध्यता थियो, संविधान संशोधन अहिले असान्दर्भिक: ओली

प्रधानमन्त्री नेकपा (एमाले) का अध्यक्ष तथा केपी शर्मा ओलीले आफूले विगतमा गरेको संसद् विघटन रहर नभई परिस्थितिजन्य बाध्यता भएको बताएका छन्।

वरिष्ठ पत्रकार विजय कुमार पाण्डेसँगको एक अन्तर्वार्तामा उनले वर्तमान राजनीतिक अवस्था र संविधान संशोधनको सम्भावनाबारे पनि आफ्नो धारणा राखेका हुन्।

अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले विगत सम्झँदै झण्डै दुई तिहाइ बहुमतको सरकार भएर पनि पार्टीभित्रको आन्तरिक कलहका कारण काम गर्न नसक्ने अवस्था आएपछि जनतामा जाने निर्णय लिएको स्पष्ट पारे।

‘मैले चलाउन सक्ने अवस्था रहेन। दुई तिहाइ भए पनि चलाउन सक्ने अवस्था आएन। त्यसैले म जनतामा जान चाहन्छु भनेर विघटन गरेको हुँ,’ उनले भने।

विगतको तितो अनुभव स्मरण गर्दै उनले भने, ‘म बिजुली चम्किँदा तर्सिन्छु, किनभने मैले अघुल्टो खाइसकेको छु।’ उनले आफ्नो सरकार ढाल्न र पार्टी फुटाउन अदालत सहयोगीको भूमिकामा देखा परेको आरोपसमेत लगाए।

संविधानमा रहेका कमजोरी र संशोधनको आवश्यकता स्वीकार गरे पनि अहिलेको परिस्थितिमा यो सम्भव नभएको उनको भनाइ थियो। उनले भने, ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तो, अहिले यो विषयमा बहस चलाएर मानिसहरूलाई विभाजित गर्नुको अर्थ छैन।’

संविधान संशोधनका लागि सत्ता गठबन्धनसँग पनि दुई तिहाइ बहुमत नपुगेको यथार्थ औँल्याउँदै उनले अहिले यो विषय उठाउनु असान्दर्भिक हुने तर्क गरे।

‘हामीले संशोधन गर्ने भनेर कांग्रेस र हामीले सहमतिपत्रको दोस्रो बुँदामै लेखेका छौं, तर हामीले संसद्को स्थिति र संख्या पनि हेर्नुपर्छ,’ उनले भने, ‘अहिले हामी संविधान संशोधन गरिहाल्न सक्ने अवस्थामा छैनौं।’

ओलीले संविधान निर्माण प्रक्रियाको स्मरण गर्दै पहिलो संविधानसभा असफल हुनुको कारण नै त्यो ‘संविधानसभा’ हुनु रहेको टिप्पणी गरे। उनले भने, ‘पहिलो संविधानसभा किन फेल भयो भने त्यो संविधानसभा थियो। यदि त्यो कमिसन हुन्थ्यो भने फेल हुन्थेन।’ 

प्रकाशित: १ श्रावण २०८२ १९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App