१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमालेमा समानान्तर सक्रियता

टिप्पणी

सरकार सञ्चालनको नेतृत्व लिइरहेको नेकपा एमालेभित्र समानान्तर गुट सञ्चालनको अभ्यास सुरु भएको छ। लामो समयदेखि एकले अर्कालाई सहयोग गर्दै आएका नेताहरूले अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीका नामबाट समानान्तर गुटको अभ्यास गरिरहेका छन्।

असार १४ यता एमालेभित्र चाहेर वा नचाहेर नेताहरूले सामाजिक सञ्जालबाट एकअर्कालाई छेडखानी गर्दै गुट अभ्यासको संकेत गरिरहेका हुन्। संस्थापन पक्षका नामबाट महासचिव शंकर पोखरेलबाटै विधान अधिवेशनका क्रममा नेतृत्वको छलफल नगर्न चेतावनी दिइरहेका बेला भण्डारीलाई अध्यक्ष बनाएर लैजानुपर्छ भन्नेहरूले त्यसलाई स्वीकार गर्न सकेका छैनन्।

 एमाले अध्यक्ष ओलीलाई सहयोग गरेका नेता–कार्यकर्ता नै पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय गराएर पार्टीभित्रको एकाधिकार तोड्न चाहन्छन्। ओलीको कार्यशैलीका कारण पार्टीका आन्तरिक विषयमा असन्तुष्ट नेता–कार्यकर्ताहरू भण्डारीलाई अघि सार्दा गुट बनाउन सहज हुने ठान्छन्।

मदन भण्डारीको जन्मदिनको अवसर पारेर असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले एमालेमा फर्किने औपचारिक घोषणा गरेकी थिइन्। त्यसअघिदेखि नै पार्टी गतिविधिमा सक्रिय भण्डारीले पार्टीमा फर्केको घोषणा गरेपछि एमालेमा आन्तरिक गुट निर्माणले बिस्तारै आकार लिन थालेको छ। नेताहरूले सार्वजनिक रूपमै भण्डारी र ओलीको पक्ष–विपक्षमा बोल्न थालेका छन्। एमालेले यही साउन ५ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। त्यो बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन्।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले यतिबेला ७० वर्षे उमेरहद र दुई कार्यकाल पार्टी नेतृत्वबारेको बहसमा छ। यो विषयमा ओली पक्षधर र भण्डारी पक्षधरमा खुलमखुला बहस सुरु भएको हो। विधान महाधिवेशनको तयारीमा रहेको एमालेमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनले नयाँ रूप लियो। पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सेवासुविधासमेत त्यागेर घोषित रूपमा नै एमाले राजनीतिमा फर्किएकी भण्डारीलाई ओलीइतरका नेताहरूले भावी नेतृत्वका रूपमा चर्चा गर्न थालेपछि महासचिव पोखरेलको निर्देशनमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाललगायत नेताहरूले नेतृत्वको बहसमा रोक लगाएका थिए।

एमालेमा संस्थापन पक्षका नाममा नेतृत्व बहसमा रोक लगाइएपछि पार्टी केन्द्रदेखि तल्लो तहसम्मै ओली र भण्डारी पक्षमा कित्ताकाट हुन थालेको छ। भण्डारीको पुनरागमनले भूकम्प नै गएको एमालेभित्र युवा विद्यार्थी संगठनका नेताहरूले सामाजिक सञ्जालमा आफ्ना मत राखिरहेका छन्।

विधान महाधिवेशनको तयारीका सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै पोखरेलले विधान महाधिवेशनले तय गरेका कतिपय विषय राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने दाबी गर्दै भावी नेतृत्वको बहसप्रति बन्देज लगाउन खोजेपछि जनवर्गीय संगठनका नेताहरू मात्र होइन, पदाधिकारी र केन्द्रीय सदस्यहरू समेत बहसमा तानिएका छन्। च्यासलको एउटा कार्यक्रममा स्थायी कमिटी सदस्यसमेत रहेका जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीको निर्णयविरुद्ध नबोली नेता भइँदैन भन्ने मानसिकता त्याग्न आग्रह गर्दै संस्थागत निर्णयभन्दा बाहिर नजान फरमान जारी गरे।

विधान महाधिवेशन तयारीका क्रममा आयोजित जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै ढकालले पार्टीको संस्थागत निर्णय नमान्ने जनसंगठनका पदाधिकारी नोटिसमा रहेको भन्दै भण्डारीका पक्षमा खुल्नेहरूलाई चेतावनी दिएका थिए। उनको यो चेतावनी उनी आफंैलाई भारी पर्ने अवस्थामा पुगेको छ।

युवा संघको महाधिवेशनमा थोरै मात्रै मतले पराजित भएका सुमन पुरीले त ढकाललाई लक्षित गरेर पेटी ठेकेदारको संज्ञा दिए। ‘पेटी ठेकेदारज्यू ! पार्टी तपाईंको बिर्ता होइन, तपाईंले भन्यो भन्दैमा संस्थागत हुँदैन ! अति नगर, अब हामीले नोटिस गर्न थालेका छौं। त्यसपछि पार्टी कार्यालय छिर्ने हैसियत पनि रहँदैन। हेक्का राख !’ पुरीले सामाजिक सञ्जालमा लेखेका छन्।

यसरी एकले अर्कालाई ललकार्न थालेपछि एमालेका सचिव योगेश भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेपछि विषयले अझ गम्भीर मोड लिएको देखिन्छ। ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं। बसौं, आपसमा विमर्श गरौं। सहकार्यमार्फत समाधान खोजौं। जबजको मर्म पनि यही हो राष्ट्र, जनता र एमाले हामी सबै एक ठाउँ उभिने आधार,’ सचिव भट्टराईले दुवै पक्षलाई समेट्दै समभावले स्टाटस लेखेका थिए। तर सचिव योगेशको यो भनाइमा कतिपय नेताहरूको अरुचि देखियो। कसैले कमेन्ट बक्समा असन्तुष्टि जाहेर गरेका थिए। तर केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले भने भट्टराईको स्टाटस साझा गरी एमालेभित्र बल्ल नेताहरूले ‘पेलिनुको पनि हद हुन्छ’ भन्न थालेको बताएकी छन्। उनले यसो भन्न पनि भ्याएकी छन्, ‘तर राजनीति त विधि र विचारमा टेकेरै हिँड्नुपर्छ। फेरि पनि सांगोपांगो हिसाबकिताब केन्द्रीय कमिटीले गरोस।’

उनी त्यतिमा मात्रै रोकिइनन्। दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाउनेदेखि भीम रावलको सदस्यता खोस्नेसम्मको हर्कतको समीक्षाको मागसमेत उनले गरेकी छन्। उनी आफैं केन्द्रीय सदस्यहरू हुन्। ‘दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म, राजेन्द्र लिङ्देन, कमल थापा, धवलशमसेर, दीपक बोहरासँग गरेको चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने र पार्टी सदस्यतासमेत खोस्ने हर्कत कमिटीका नाममा र संस्थाका नाममा भएका यी सबै ध्वस्तताको विषयमा छलफल र समीक्षा गरौं,’ उनले भनेकी छन्।

यस्तो भनाइबाट पनि ओली र भण्डारीको कित्तामा नेताहरू विभाजित हुन थालेको स्पष्ट हुन्छ। अर्का केन्द्रीय सदस्य एवं सांसद दयालबहादुर शाहीले पनि एमालेभित्र संस्थापनका नाममा जे भएको छ त्यसप्रति कार्यकर्ता असन्तुष्ट देखिएको बताए। ‘पार्टीमा भँगालो फाट्दा मुटु चिरिने गथ्र्यो। बा–आमा मरेजस्तै लाग्थ्यो। अब त बानी नै बस्यो। जे हुन्छ राम्रोको लागि हुने रहेछ। भिरको डिलमा जाऊ। तिम्रो खुसी,’ उनले भनेका छन्।

बिहीबार र शुक्रबार एमालेका नेताहरू पक्ष विपक्षमा उभिएका छन्। संस्थापनइतर पक्षमा लाग्नेहरूलाई स्थायी कमिटी सदस्य ढकालले चेतावनी दिएपछि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन भूमिका खेलिरहेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालबाट ढकालप्रति कटाक्ष गरेका छन्। बास्कोटाले फेसबुकमार्फत ढकालको ‘नोटिस’प्रति लक्षित गर्दै सिकाउन आवश्यक नभएको जवाफ दिएका छन्। ‘बजारमा नोटिस हिट भएछ। तर मान्छेहरू नो निड टु टिच पो भन्न थालेछन्। बुझ्नै कठिन, के हो? के हो? मलाई बुझाइदिने कोही छ?’ शुक्रबार बास्कोटाले भनेका छन्।

प्रकाशित: २९ असार २०८२ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App