निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्ताको ऊर्जावान नेतृत्वले देशलाई अझ समृद्ध र स्थिर भविष्यतर्फ डोर्याउने विश्वास लिएको बताएकी छन्।
आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेर आजैदेखि कार्यभार सम्हालेपछि निवर्तमान प्रधानमन्त्री कार्कीले आफ्नो सार्ववनिक जिम्मेवारीको एक महत्वपूर्ण अध्याय औपचारिक रुपमा समाप्त भएको भन्दै नयाँ पुस्ताको ऊर्जावान नेतृत्वले देशलाई अझ समृद्ध र स्थिर भविष्यतर्फ डोर्याउने विश्वास लिएको बताएकी हुन्।
'आज मेरो सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो। हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ। लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ।', उनले लेखेकी छन, 'अब जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा म निश्चिन्त भएकी छु। नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध र स्थिर भविष्यतर्फ डोर्याउने विश्वास लिएकी छु।'
उनले आफ्नो जिम्मेवारी पूरा गर्न सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन्। 'यस यात्रामा साथ, सहयोग र विश्वास दिनुहुने सम्पूर्ण नेपाली नागरिक, सहकर्मी र सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।', उनले भनिन्।
प्रकाशित: १३ चैत्र २०८२ १६:३५ शुक्रबार





