मुलुकको विद्यमान राजनीतिक परिदृश्यमा नयाँ वैकल्पिक शक्तिको दाबीसहित ‘हाम्रो पार्टी नेपाल’ नामक नयाँ राजनीतिक दलको आज (बिहीबार) औपचारिक घोषणा गरिँदैछ।
यस दलले राजधानीको बालुवाटारमा एक समारोहका बीच आफ्नो विधिवत् आरम्भ गर्न लागेको हो। पार्टीका प्रेस संयोजक सोबिन्द्र परियारका अनुसार, घोषणा सभा काठमाडौंको बालुवाटारस्थित टी-२१ प्यालेसमा आयोजना गरिएको छ।
कार्यक्रम आज मध्यान्ह १२:०० बजे सुरु हुनेछ। संयोजक परियारले कार्यक्रमको सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए।
नयाँ दलको घोषणा सभामा सामाजिक अभियन्ता खगेन्द्र सुनार प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। लामो समयदेखि सामाजिक र नागरिक सरोकारका विषयमा आवाज उठाउँदै आएका सुनारकै मुख्य अग्रसरता र वैचारिक नेतृत्वमा यो दल अगाडि बढ्न लागेको बुझिएको छ।
प्रेस संयोजक परियारका अनुसार आजको कार्यक्रम केवल पार्टीको नाम घोषणामा मात्र सीमित हुनेछैन। यस समारोहमा विभिन्न राजनीतिक दल, सामाजिक क्षेत्र तथा स्वतन्त्र रूपमा रहेका थुप्रै नयाँ अनुहारहरूलाई पार्टीमा औपचारिक रूपमा प्रवेश गराउने कार्यक्रम समेत तय गरिएको छ।
पार्टीले आगामी दिनमा लिने राजनीतिक कार्यदिशा, अन्य दलहरूसँगको सहकार्य वा गठबन्धनको सम्भावना तथा देशको समसामयिक समस्या समाधानका लागि पार्टीको स्पष्ट दृष्टिकोण पनि आजकै मञ्चबाट सार्वजनिक गरिने बताइएको छ।
प्रकाशित: १८ मंसिर २०८२ ०९:४६ बिहीबार





