३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

हाम्रै नेताहरू दलाल र बिचौलिया बने, अब पार्टीमा ठाउँ छैन: दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीका केही नेताहरू दलाल पुँजीवाद र बिचौलिया प्रवृत्तिमा फसेको भन्दै आत्मआलोचना गरेका छन्।

उनले यस्ता नेताहरूका कारण जनतामा पार्टीप्रतिको भरोसा कमजोर बनेको स्वीकार्दै उनीहरूलाई तत्काल सच्चिन चेतावनी दिए।

पार्टीको आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई आइतबार पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियापछि कतिपय नेताहरू समाजवादी बन्नुको सट्टा बिचौलिया र दलाल टाइपका बनेको भन्दै आक्रोश व्यक्त गरे।

‘दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई अब माओवादी केन्द्रमा धेरै दिन स्थान छैन,’ उनले चेतावनीको शैलीमा भने, ‘त्यस्ता प्रवृत्ति लामो समय पार्टीमा रहिरहन सक्दैनन्।’

अध्यक्ष दाहालले पार्टीका हरेक सदस्यले अब आफ्नो सोच र शैलीमा आमूल परिवर्तन गर्नुपर्ने बेला आएको सुनाए। उनले पार्टीको मुख्य लक्ष्य समाजवाद भएको र त्यसको एकमात्र आधार ‘उत्पादन संघर्ष’ हुने स्पष्ट पारे।

‘हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो,’ उनले भने, ‘उत्पादन संघर्षमा सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन।’

विगतमा हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ को नीति कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै दाहालले अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न विशेष अभियान चलाउने घोषणा गरे।

उनका अनुसार कृषि, उद्योग, जडीबुटी र पर्यटनजस्ता स्थानीय सम्भावनाको सदुपयोग गरेर मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिन्छ।

उनले सरकारमा रहँदा आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा दलाल र बिचौलिया विरुद्ध लडाइँ लडेको स्मरण गर्दै माओवादी र दलाल प्रवृत्ति सँगसँगै रहन नसक्ने ठोकुवा गरे।

प्रकाशित: ८ भाद्र २०८२ १६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App