संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले विरोध जनाउँदै बैठकको कारबाही अगाडि बढ्न दिएका छैनन्।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिन सभामुखले अर्थमन्त्रीलाई अनुमति दिएलगत्तै विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएका हुन्।
सभामुखले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिन रोस्ट्रममा बोलाएका थिए।
तर, विपक्षी दलसहितका सांसदहरूले सरकारको प्रमुख दस्ताबेजमाथि उठेका प्रश्नको जवाफ स्वयम् प्रधानमन्त्रीले नै दिनुपर्ने अडान राख्दै अवरोध गरे।
विपक्षी दलका सांसदहरूले संसदीय मर्यादा र परम्पराअनुसार नीति तथा कार्यक्रमको स्वामित्व र जवाफदेहिता सरकार प्रमुखको हुने तर्क गरेका छन्।
उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा अनुपस्थित हुनु संसद्प्रतिको अपमान भएको आरोपसमेत लगाएका छन्। विपक्षीहरूको अवरोधका कारण अर्थमन्त्री वाग्लेले आफ्नो मन्तव्य सुरु गर्न पाएनन्।
संसद्मा विपक्षीको नाराबाजी र उठेर गरिरहेको विरोधका बीच सभामुखले पटक–पटक आसन ग्रहण गर्न र सदनको कारबाही सुचारु गर्न आग्रह गरेका थिए।
यद्यपि, विपक्षीहरूले प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने अडान दोहोर्याइरहे। उनीहरूले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ नदिएसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न नसक्ने चेतावनी दिएका छन्।
प्रकाशित: ३१ वैशाख २०८३ १९:५५ बिहीबार





