नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको नेतृत्व गर्नसक्ने सामर्थ्य एमालेसँग मात्र रहेको बताएका छन्।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्। उनले भने, 'मुलुकमा सामाजिक, आर्थिक परिवर्तन ल्याउने र ल्याउनसक्ने सामर्थ्य भएको पार्टी नेकपा एमाले मात्र हो, आज पार्टी प्रवेश गर्नुको अर्थ सही पार्टीको छनोट गर्नु हो।'
महासचिव पोखरेलले विगतमा देशमा भएका अधिकांश महत्त्वपूर्ण रूपान्तरणको नेतृत्व एमालेको नेतृत्वमा भएको बताए। उनले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै अगाडि सारिएको मिसन–२०८४ लाई सफल बनाउन नवप्रवेशीको सहभागिता महत्त्वपूर्ण हुने विश्वास बताए।
कार्यक्रममा विभिन्न दलहरूमा आबद्ध ३८ जना एमालेमा प्रवेश गरेका थिए।
प्रकाशित: २२ श्रावण २०८२ ०६:४९ बिहीबार





