प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अडिओ प्रकरणमा मुछिएका सरकारका दुई मन्त्रीमाथि कारबाहीको माग गरेका छन्। सोमबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यसो भनेका हुन्।
उनले भनेका छन्, 'मन्त्रीको अडिओ काण्ड आइसकेपछि प्रधानमन्त्रीले मन्त्रीहरूलाई निकाल्ने हो र छानबिन गर्ने हो, छानबिन गर्दा दोषी देखियो भने कारबाही गर्ने हो। सबैको हकमा यही नै लागू हुन्छ।'
'कानूनको शासन भनिसके पछाडि त्यो कानून हामी सबै मिलेर बनाएका हौँ, त्यसको एउटा प्रक्रिया हुन्छ। त्यो प्रक्रियाबाट निर्माण भएको त्यो कानूभन्दा कोही पनि माथि हुँदैन। कसैले सडकबाट हल्ला गरेर पनि कानूनभन्दा माथि हुँदैन, कोही लोकप्रिय भएर पनि कानूनभन्दा माथि हुँदैन, सत्ताको शक्ति प्राप्त गरेर पनि कोही कानूनभन्दा माथि हुँदैन,' उनले अगाडि भने।
कोही कांग्रेस भएर पनि कानूनभन्दा माथि नहुने र आफूले त्यो नमान्ने बताए। 'हामी कांग्रेस हौँ, त्यसकारण कानून उल्लङ्घन भयो भने पनि कांग्रेस भएको कारणले गर्दा उम्किनुपर्छ भन्ने मचाहिँ मान्दिनँ। मैले सधैँ भनेको छु, म अहिले नेपाली कांग्रेसको महामन्त्री छु, म कांग्रेस भएकाले कसैलाई मलाई दु:ख दिन्छन् भने तपाईंहरूसँग मैले सहयोगको अपेक्षा गर्छु तर, मैले सार्वजनिक जिम्मेवारी लिएर गल्ती गरेको छु भने त्यसबेला तपाईंहरूले मेरो पक्षमा चुइँक्क पनि बोल्नुहुन्न। यो सबैको हकमा लागू हुनुपर्छ। एमाले, माओवादी, नयाँ, पुरानोको पक्षमा लागू हुनुपर्छ,' उनले भने।
अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी मुछिएको एक अडिओ सार्वजनिक भएको छ। उक्त अडिओबारे मन्त्री गुप्ताले स्वीकारोक्तिसमेत जनाइसकेका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने अहिलेसम्म उनीहरूलाई हटाउनेबारे केही कदम चालेका छैनन्।
(यसअघिको समाचारमा भुलबस कृषिमन्त्री रामनाथ अधिकारीको नाम पर्न गएकोमा सच्याइएको छ - सम्पादक)
प्रकाशित: ३० असार २०८२ १६:३५ सोमबार





