१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ओलीजी, ढाँटछल र षड्यन्त्र छोड्नुस्, इमानदारिता देखाउनुस्: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक इमानदारिता देखाउन आग्रह गरेका छन्।

धादिङको बेनिघाट रोराङमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले ओलीलाई ढाँट, छल र षड्यन्त्रको राजनीति छोडेर निर्वाचनको वातावरण बनाउन सुझाव दिएका हुन्।

वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन नै एक मात्र विकल्प भएको जिकिर गर्दै दाहालले पूर्वप्रधानमन्त्री ओलीले नै वर्तमान सरकार गठनको आधार तयार पारेको स्मरण गराए।

संयोजक दाहलले वर्तमान अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई केपी ओलीकै सिफारिसमा र सर्वदलीय सहमतिमा नियुक्त गरिएको दाबी गरे। आफैंले सिफारिस गरेको सरकारप्रति अहिले ओलीले दोहोरो चरित्र देखाएको भन्दै उनले आपत्ति जनाए।

‘हिजो केपी ओलीजीकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको हो, यो सर्वदलीय सहमतिको सरकार हो,’ दाहालले भने, ‘अहिले बाहिर एउटा र भित्र अर्को कुरा गरेर जनतालाई गुमराहमा राख्न पाइँदैन। म ओलीजीलाई आग्रह गर्छु– ढाँट, झुट र छलछाम गर्ने तिर नलागि संविधानलाई ट्रयाकमा ल्याउन इमानदार बन्नुस्।’

दाहालले मुलुक अहिले गम्भीर संकट र अराजकताको भुमरीमा फसेको भन्दै यसबाट पार पाउन निर्वाचनमा जानुको विकल्प नरहेको बताए।

उनले संविधानलाई सही मार्गमा फर्काउन र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सबै शक्ति निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

‘अहिलेको अप्ठ्यारो परिस्थितिबाट देशलाई मुक्त गर्न निर्वाचन नै उत्तम विकल्प हो,’ उनले थपे, ‘सरकारलाई निर्वाचनमा केन्द्रित हुन दिनुस् र राजनीतिक दलहरूले पनि त्यसका लागि वातावरण बनाउनुस्।’

प्रकाशित: १० मंसिर २०८२ १८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App