पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ। गत भदौ २३ को ‘जेनजी आन्दोलन’ बारे छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेपछि तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
आयोगले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलगायतमाथि ‘फौजदारी कानुनअनुसार कारबाही गर्न’ सिफारिस गरेको छ। सोही सिफारिसका आधारमा प्रहरीले आज बिहानै ओली र लेखकलाई पक्राउ गरेको हो।
गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारेका छन्।
प्रकाशित: १४ चैत्र २०८२ ०७:४० शनिबार





