नेपालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयले भारतमा पनि चर्चा पाएको छ। दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) का संस्थापक अरविन्द केजरीवालले सामाजिक सञ्जाल एक्समार्फत यसबारे प्रतिक्रिया दिएका हुन्।
तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको हिंसा र हताहतको छानबिन आयोगले दोषी ठहर गरेपछि आज बिहान पक्राउ गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
यो घटनालाई लिएर केजरीवालले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखेका छन्, “नेपाल के पूर्व प्रधान मंत्री और गृह मंत्री अपने पुराने कुकर्मों की वजह से गिरफ़्तार” (नेपालका पूर्व प्रधानमन्त्री र गृहमन्त्री विगतका कुकर्मका कारण पक्राउ)।
केजरीवालले हालै दिल्लीको मदिरा नीति घोटाला मामिलामा दिल्ली उच्च अदालतबाट पूर्ण सफाई पाएका थिए। उक्त मामिलामा उनलाई र मनीष सिसोदिया लगायतलाई आरोप मुक्त गर्दै अदालतले कुनै आपराधिक षड्यन्त्र नभएको ठहर गरेको थियो।
सफाई पाएपछि केजरीवालले भावुक हुँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहमाथि ठूलो राजनीतिक षड्यन्त्र रचेको आरोप लगाएका थिए। उनले यो षड्यन्त्र आपलाई समाप्त पार्न र दिल्लीमा सत्ता कब्जा गर्नका लागि गरिएको दाबी गरेका थिए।
प्रकाशित: १४ चैत्र २०८२ १०:२६ शनिबार





-600x400.jpg)