गत भदौमा भएको जेन-जी आन्दोलनपछि पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शनिबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल पुगेका छन्।
पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली च्यासलस्थित कार्यालयमा पुगेका हुन्।
भदौ २३ र २४ गते देशव्यापी भएको जेन-जी आन्दोलनका क्रममा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। सोही आन्दोलनका क्रममा उनको बालकोटस्थित निजी निवास र च्यासलस्थित पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड भएको थियो।
त्यसयता ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् र पार्टीका गतिविधि तथा बैठकहरू पनि त्यहीँबाट सञ्चालन हुँदै आएका थिए।
शनिबार आयोजित चियापान कार्यक्रममा अध्यक्ष ओलीसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवालीलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
जेन-जी आन्दोलनका कारण उत्पन्न परिस्थितिपछि एमालेले आफ्नो केन्द्रीय कार्यालयमा आयोजना गरेको यो पहिलो औपचारिक कार्यक्रम हो जसमा अध्यक्ष ओली स्वयम् उपस्थित भएका छन्।
सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक







प्रकाशित: १ कार्तिक २०८२ १५:१९ शनिबार





