१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

ओलीले केन्द्रीय कमिटीमा भने- विद्यासँग आफैँ कुरा गर्छु, कोही माइती बनेर आउनुपर्दैन

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आफैँ कुरा गर्ने बताएका छन् ।  

पूर्वराष्ट्रपति भण्डारीले पुन: सक्रिय राजनीति थालेपछि एमालेमा दुई धार देखिएको थियो । सोही विषय पार्टीको केन्द्रीय कमिटी बैठकमा जोडले उठेको थियो।  

विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा केन्द्रीय सदस्यले सोधेको प्रश्नको जवाफ दिनेक्रममा ओलीले आफूले विद्यादेवी भण्डारीलाई राम्ररी चिनेको र आफैँ कुरा गर्ने जवाफ दिएका थिए ।  

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले अहिले व्यस्त भएकालेमात्र कुराकानी नभएको र अब समय निकालेर कुरा गर्ने बताएका थिए ।  

ओलीले भनेका थिए, ‘म विद्याजीलाई राम्ररी नै चिन्छु । उहाँसँग म आफैँ कुरा गर्छु । राति अबेरसम्म बसेर काम गर्छु । उहाँ सुतिसक्नुहुन्छ होला । राति फोन गर्ने कुरा भएन । अहिले दिउँसो यो बैठकमा सहभागी हुन आएको छु । तपाईंहरूका कुरा सुन्न आएको छु । समय मिलेको छैन । अब समय मिलाएर म कुरा गर्छु ।’

 

ओलीले आफू विद्या भण्डारीको अप्ठेरो बेलाको साथी भएको पनि बताए । उनले बैठकमा जवाफ दिनेक्रममा भने, ‘विद्या भण्डारीको बारेमा कुरा गर्न कोही यहाँ माइती बनेर आउनुपर्दैन । म विद्या भण्डारीलाई राम्रैसँग जान्दछु । जब उहाँ असजिलो अवस्थामा हुनुहुन्थ्यो, मैले सहयोग गरेको हुँ । म उहाँको अप्ठेरो बेलाको साथी हुँ ।’

 

आफूले विगतमा अफ्ठ्यारो बेलामा सहयोग गरेकाले अब भण्डारीले आएर आफूलाई सघाउनुपर्ने तर्क ओलीले गरेका थिए । सदस्यहरूले उठाएका प्रश्नमा ओलीले जवाफ दिएपछि तीन दिनदेखि जारी एमालेको केन्द्रीय कमिटी बैठक आज समापन भएको छ ।

प्रकाशित: ३१ आश्विन २०८२ १९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App