२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

ओली-भण्डारीबीच छिटै ‘चमत्कारी सेटलमेन्ट’ हुन्छ, विद्रोह असम्भव: पोखरेल

नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै टिक्ने र पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच ‘चमत्कारी ढंगले’ सेटलमेन्ट हुने दाबी गरेका छन्।

उनले अध्यक्ष ओलीको नेतृत्वमा एमालेभित्र कुनै पनि विद्रोह असम्भव रहेको र गठबन्धन भत्काएर वैकल्पिक सरकार बनाउने कुरा सपनामा पनि नसोच्न आग्रह गरे।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने, ‘अहिले कुनै हालतमा यो गठबन्धनको विकल्प छैन, ८४ सम्म ढुक्कसँग यो गठबन्धन जान्छ।’

उनले एमालेभित्र ओलीको नेतृत्व रहँदासम्म कुनै किसिमको विद्रोह हुन नसक्ने ठोकुवा गरे।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनको चर्चाबारे सोधिएको प्रश्नमा पोखरेलले सैद्धान्तिक रूपमा दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति पुनः पार्टी राजनीतिमा आउनु शोभनीय नहुने बताए।

‘संसदीय प्रणाली भएका विश्वका कुनै पनि देशमा सेरोमोनियल राष्ट्रपति भइसकेको व्यक्ति फेरि पार्टीमा वा सरकारमा जाने कुरा त्यति शोभनीय हुँदैन,’ उनले भने, ‘हाम्रो पार्टी र राष्ट्रको अभिभावक भएर बस्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’

तर, उनले संविधान र कानुनले भण्डारीलाई राजनीतिमा आउन नरोक्ने स्पष्ट पारे। भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको पुष्टि गर्दै पोखरेलले भने, ‘उहाँले आउँछु भन्दा संविधान कानुनले कहीँ रोक्दैन। प्रतिस्पर्धालाई अस्वीकार गर्ने कुरा पनि भएन।’

नेता पोखरेलले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच कुनै विवाद नआउने र छिट्टै ‘चमत्कारी सेटलमेन्ट' देख्न पाइने दाबी गरे।

उनले भने, ‘मेरो अन्तःस्करणबाट के कुरा आउँछ भने कमरेड केपी ओली र विद्या भण्डारीको बीचमा विवाद नआइकन एउटा सेटलमेन्ट चमत्कारी ढंगबाट छिट्टै देख्न पाइन्छ।’

प्रकाशित: ३ श्रावण २०८२ १९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App