२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

ओलीले भने- हामीले आन्दोलनको तयारी गर्न पर्ने हुनसक्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको वातावरण नबनाए र प्रतिशोधको राजनीति जारी राखे पार्टी आन्दोलनमा उत्रनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले आगामी फागुन २१ गतेका लागि भनिएको निर्वाचनको कुनै तयारी नगरेको र उल्टै प्रमुख दलहरूलाई बदनाम गर्ने प्रपञ्च रचेको आरोप लगाए।

अध्यक्ष ओलीले सरकारका गतिविधि हेर्दा सहजै चुनाव हुने छाँटकाँट नदेखिएको बताए। उनले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘अहिलेको अवस्था हेर्दा हामी आन्दोलनका लागि तयार हुनुपर्ने देख्छु। आन्दोलनकारी मानसिकताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता देख्छु।’

उनले सरकारले चुनावको वातावरण बनाउनुको साटो निषेध र प्रतिशोधको राजनीति गरिरहेको जिकिर गरे। ‘निर्वाचनको वातावरण बनेको छैन। र प्रमुख राजनीतिक दलहरूमाथि हमला गरेर, डेमोक्रेसी मास्नका लागि निर्वाचनको नाटक गर्न खोजियो भने त्यो नाटकको पर्दा नउठ्ने गरी र बन्द नहुने गरी च्यातिन्छ,’ ओलीले चेतावनी दिए।

ओलीले एमाले र कांग्रेसजस्ता प्रमुख दलहरूलाई बाइपास गरेर वा पेलेर गरिने चुनाव स्वीकार्य नहुने स्पष्ट पारे। उनले भने, ‘एकातिर प्रतिशोध, एकातिर निषेध र अर्कातिर निर्वाचन– यो चल्दैन। निर्वाचनको वातावरण बनाउनुस्।’

उनले सरकारले विभिन्न बहानामा तमासा देखाइरहेको भन्दै राहदानी रोक्का गर्नेदेखि बयानका लागि बोलाउने कुराहरू चुनाव विथोल्ने र दलहरूलाई बदनाम गर्ने षड्यन्त्र भएको टिप्पणी गरे।

अध्यक्ष ओलीले जेन–जी र युवाहरूलाई कसैको उक्साहटमा नलाग्न आग्रह गरे। अरुले लगाएको आगोमा देश जलिरहेको भन्दै उनले देश बनाउने जिम्मा युवाहरूकै काँधमा रहेकाले गम्भीर भएर सोच्न आग्रह गरे।

प्रकाशित: १५ पुस २०८२ १७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App