१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

ओलीको प्रश्न : अहिलेसम्म ग्रीन आर्मी देखिएको थिएन, यसको खर्च कसले बेहोरेको छ ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले भूकम्प र कोभिडको समयमा  ‘ग्रीन आर्मी’ नभएको दाबी गरेका छन्।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले ग्रीन आर्मीबारे प्रश्न उठाएका छन्।

विपद्को बेलामा  ‘ग्रीन आर्मी’लाई रहस्यमय तरिकाले बाहिर ल्याइएको आरोप लगाउँदै उनले भने, ‘त्यो संस्था ७२ सालमा भूकम्प गएको बेला थिएन। कोभिडको समयमा त्यो संस्था थिएन। गत वर्ष रसुवामा बाढी गएको थियो, त्यसबखत पनि थिएन। जेनजी आन्दोलनमा पनि देखिएन।’

अहिले सम्म यो युनिफर्ममा कसैलाई नदेखिएको बताउँदै उनले आर्मीले तालिम दिएको भनिएको ग्रीन आर्मीबारे सबैले विचार गर्नुपर्ने बताए।

यसलाई तयार गर्न ठूलो खर्च प्रयोग भएको आशंका गर्दै उनले यसको खर्च कसले बेहोरेको भन्दै प्रश्न गरे। ‘आर्मीले, सेनाले, प्रहरीले, सशस्त्र प्रहरीले तालिम दिएको कुरा आएको छ। त्यसको खर्च कसले बेहोर्‍यो? कसले बेहोर्ने गर्छ?’, उनले भने,‘सङ्ख्या ७० हजार भएको दाबी आएको छ। ७० हजार बुट, चुस्ता र अरू परिचालनका खर्चहरू कसले बेहोरेको छ? यसको स्रोत के हो?’

केपी ओली प्रधानमन्त्री भएको बेलामा यो संस्था दर्ता गरिएको भनेर आफ्नो नाम लिइएको भनेको प्रति आप्पती जनाउँदै उनले भने,‘ ‘म प्रधानमन्त्री भएका बेला दर्ता गरिएको भन्ने भनाइ पनि आएको छ। कसले के–के संस्था दर्ता गरेका छन्, त्यो संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको हुन्छ? मेरो नाम त्यहाँ किन ल्याएको?’

उनले सङ्घसंस्था दर्ता सेनाले नगर्ने बताउँदै उनले गृह मन्त्रालय र रक्षा मन्त्रालयले दर्ता गराएको भन्ने हल्ला सुनेको बताए। उनका यसका उद्देश्यबारे स्पष्ट पारिन जरुरी रहेको बताए।

प्रकाशित: १९ भाद्र २०८३ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App