नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सार्वजनिक गरेको भनिएको ‘क्यासेट’ (अडियो) को विषयमा सरकारसँग जवाफ मागेका छन्।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले मान्छे पक्राउ गरेर विषयलाई दबाउनुको साटो उक्त क्यासेटको वास्तविकता जनतालाई बताउन प्रधानमन्त्रीलाई चुनौती दिएका हुन्।
अध्यक्ष ओलीले सरकारले विषयवस्तुको गहिराइमा नगई उल्टै मान्छे तर्साउने र गिरफ्तार गर्ने काम गरेको भन्दै आपत्ति जनाए।
उनले मञ्चबाटै प्रश्न गरे, ‘दुर्गा प्रसाईंले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनुपर्छ, प्रधानमन्त्रीले बताउनुपर्छ- के हो त्यो क्यासेट ?’
ओलीले थपे, ‘उल्टै मान्छे समाउँछु, गिरफ्तार गर्छु भन्न पाइँदैन। मान्छे गिरफ्तार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनुपर्यो। गर्नुस् न, भन्नुस् न के हो त्यो ?’
ओलीका अनुसार प्रसाईंले सार्वजनिक गरेको ‘क्यासेट’ (अडियो) मा प्रधानमन्त्री सुशिला कार्कीले विपद्का बेला सेनाले नेताहरूको उद्धार गर्दा आपत्ति जनाएको आवाज रेकर्ड भएको दाबी गरेका छन्।
क्यासेटको अन्तर्वस्तु खुलाउँदै उनले भने, ‘दुर्गा प्रसाईंले निकालेको क्यासेटमा प्रधानमन्त्री सुशिला कार्कीजीको आवाज सुनिन्छ। हेलिकप्टर उडेको देखेपछि सेनाले नेताहरूलाई बचायो भन्दा- किन बचाउने ? ती नेताहरूलाई किन बचाउने? भनेको आवाज त्यहाँ छ।’
क्यासेटको प्रसंग कोट्याउँदै ओलीले प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठाए। उनले भने, ‘जसले नेता बचाउँदा ‘किन बचाउने’ भन्छ, उहाँ अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ। यस्तो मानसिकता भएको व्यक्तिले देश कसरी चलाउनुहुन्छ ?’
प्रधानमन्त्रीको कुर्सीमा बसेर गम्भीर प्रश्नहरूको जवाफ नदिई पन्छिन नमिल्ने ओलीको तर्क थियो।
उनले विभिन्न काण्डहरूको जवाफ नदिइएको र अहिले दुर्गा प्रसाईंको विषय आउँदा दमन गर्न खोजिएको आरोप लगाए। ‘तपाईं देशको प्रधानमन्त्रीको कुर्सीमा बसेर यो क्यासेट किन बाहिर आयो भनेर जवाफ दिनुको साटो मान्छे गिरफ्तार गरेर धम्काउनुहुन्छ ?’ ओलीले आक्रोश पोखे।
अध्यक्ष ओलीले सरकारले ‘क्यासेट’ प्रकरणलाई विषयान्तर गर्न खोजेको संकेत गर्दै पहिला सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए।
प्रकाशित: ६ मंसिर २०८२ १५:५६ शनिबार





