१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओलीको ह्याट्रिक कि पोखरेलको डेब्यु?

मंगलबार स्थगित मतदान आज

एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदान प्राविधिक कारण देखाएर स्थगित गरिएको छ। स्थगित मतदान बुधबार बिहान ८ बजेबाट सुरु हुने भनिएको छ। निर्वाचन कार्यतालिमा मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भनिएको थियो तर तोकिएको समयमा मतदान सुरु हुन सकेन। दिनभर पटकपटक मतदान समय सारियो। अन्तिममा राति आठ बजेबाट सुरु हुने भनियो। तर राति आठ बजे पनि मतदान सुरु हुन सकेन। मतदान सुरु हुन नसकेपछि प्राविधिक कारण देखाएर बुधबार बिहानसम्मका लागि स्थगित गरिएको हो।

मतदान स्थगित भएको जानकारी मतदानस्थल भृकुटीमण्डपमा निवर्तमान महासचिव ईश्वर पोखरेलले सबै नेतालाई बोलाएर गराएका थिए। उनी महासचिवका उम्मेदवार पनि हुन्। उनले रातिमा प्राविधिक कारणले मतदान सुरु गर्न नसकिएकाले सबैको सल्लाहमा बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको बताएका थिए। मतदान विद्युतीय मेसिनबाट हुनेछ।

पार्टी राजनीतिमा अनेक उत्तारचढाव भोगेका र आफ्नो समूहबाहेकमा अनुदार मानिएका केपी शर्मा ओली अध्यक्षमा तेस्रो पटक निर्वाचित हुने अन्तिम तयारीमा छन्।

मंगलबार मतदान स्थगित भएकाले प्रतिनिधिले बुधबार मात्र आफ्नो मताधिकार प्रयोग गर्नेछन्। परिणाम मतदान सकिएर रुजु भएको तीन घण्टामा प्रकाशित हुने निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए। उनका अनुसार बुधबार मतदान सकिएपछि गणना प्रक्रिया सुरु हुनेछ। ‘मतदान प्रक्रिया सकिएको केही समय कलेक्सन र प्राविधक रुपमा रुजु गर्नुपर्ने हुन्छ। त्यसपछि तुरुन्तै मतगणना हुन्छ। कलेक्सन र रुजु सकिएपछि परिणाम आउन करिब ३ घण्टा लाग्ने अनुमान गरेका छौं’, उनले भने।

उनका अनुसार ८० वटाजति विद्युतीय मेसिनबाट भोट खसाल्ने व्यवस्था मिलाइनेछ।

ओलीले फेरि अध्यक्ष हुने इरादासाथ उम्मेदवारी दिएका हुन्। उनी फेरि पनि अध्यक्षमा चुनिए ह्याटिक हुनेछ। महाधिवेशनको बन्दसत्र स्थलमा मंगलबार भेटिएका अधिकांश मतदाताले अध्यक्षमा ओलीको जित हुने प्रक्षेपण गरेका छन्। अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष ओलीसँग निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता सोमबार भएको थियो।

२०७१ साल असारमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले हराएयता ओली निरन्तर अध्यक्ष छन्। उनले दुई कार्यकाल अध्यक्ष भएर पार्टी चलाइसकेका छन्। वर्षका हिसाबले भन्दा उनले ९ वर्ष निरन्तर पार्टी हाँकेका छन्। ११औं महाधिवेशन जेनजी आन्दोलनका कारण नियमितभन्दा एक वर्षअघि भएको छ।

गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले ओलीलाई तेस्रो पटक अध्यक्ष हुने ढोका खुला गरेको थियो। यसअघि विधानमा अध्यक्षका लागि दुई कार्यकाल र ७० वर्षे उमेरहदको व्यवस्था थियो। विधान महाधिवेशनपछि जेनजी आन्दोलन हुँदा एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठेपछि एक वर्षअघि नै महाधिवेशन गरिएको हो।

२०७४ सालमा तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। नेकपाका समेत अध्यक्ष भएका ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहालसँग नेतृत्व टकराव हुँदा पार्टी विभाजन भयो। नेकपा विभाजन भई एमाले साबिक अवस्थामा पुगेपछि ओली नै अध्यक्षमा कायम रहे। माधवकुमार नेपाल लगायत एमाले छाडेर गएपछि २०७८ सालमा चितवनको सौराहमा भएको १०औं महाधिवेशनबाट पनि ओली अध्यक्षमा निर्वाचित भएका थिए।

गत भदौ २३ र २४ गते मुलुकमा भएको जेनजी विद्रोहका कारण ओली प्रधानमन्त्रीबाट च्युत भएका थिए। त्यसपछि पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस चल्यो। नेतृत्वको बहस चर्को रुपमा उठ्न थालेपछि ओलीले नियमित महाधिवेशनलाई एक वर्षअघि सारेर फेरि अध्यक्षमा अनुमोदन हुन खोजेका हुन्। १०औं महाधिवेशनमा ओलीलाई सर्वसम्मत हुनबाट पूर्वउपाध्यक्ष डा. भीम रावलले रोकेका थिए। यसपटक पनि ओली सर्वसम्मत हुन चाहन्थे तर पोखरेलले चुनौती दिएका छन्।

नेतृत्व चयन निर्वाचनमा ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। यसपटक पनि ओली निर्वाचित हुने प्रक्षेपण प्रतिनिधिले गरे पनि १०औं महाधिवेशनमा जस्तो सहज छैन। रावलभन्दा पोखरेल बलिया देखिएका छन्।

यस पटक ओली समूहमा पनि पदाधिकारीमा आकांक्षीको सही व्यवस्थापन हुन नसक्दा केही असन्तुष्टि देखिएको छ। मतदानको केही घण्टा अघिसम्म ओलीले आफ्नै पक्षबाट असन्तुष्टिका स्वर सुनिरहनुपर्‍यो। जसोतसो रघुजी पन्त, प्रदीप ज्ञवाली र राजेन्द्र गौतमलाई मनाए पनि अन्य नेताहरू उनीबाट बिच्किए।

मतदान अवधिभर पोखरेल उत्साही देखिए। उनी आफूले जित्नेमा ढुक्क देखिन्थे। कदाचित पोखरेलले हारे एमालेभित्रको लोकतान्त्रिक विधि र प्रक्रियाले भने जित्ने उनको समूहका एक नेताले बताए।

बुटबलमा भएको आठौं महाधिवेशनबाट एमाले बहुपदमा गएको थियो। आठौं महाधिवेशनमा पोखरेल झलनाथ खनालको टिमबाट महासचिव उठेका थिए। त्यसबेला उनले प्रदीप नेपाललाई पराजित गरेका थिए। नेपाल ओली टिमबाट महासचिवको उम्मेदवार थिए। त्यतिबेला पोखरेलले ओलीलाई साथ दिएको भए उनले जित्न सक्ने थिए।

नवौं महाधिवेशनमा माधव नेपाललाई पराजित गरेर ओली अध्यक्षमा निर्वाचित भए। नवौं महाधिवेशनमा पोखरेल ओली समूहबाट महासचिवमा निर्वाचित भएका थिए। एमाले र नेकपा (माओवादी केन्द्र) बिच २०७५ सालमा भएको एकतापछि बनेको नेकपामा भने एमालेमा उपमहासचिव रहेका विष्णु पौडेल महासचिव भए।

पोखरेल सचिवालय सदस्य मात्रै भए। सधै संस्थापन पक्षबाट निर्वाचन लडेका पोखरेल यसपटक आफ्नो नेतृत्वमा प्यानल बनाएर प्रतिस्पर्धामा छन्। यसपटक पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ र सहयोगमा उनले अध्यक्षमा उम्मेदवारी दिएका हुन्।

चितवनको सौराहमा भएको दसौं महाधिवेशनमा ओलीविरुद्ध रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए। त्यसबेला ओलीलाई साथ दिएका पोखरले वरिष्ठ उपाध्यक्ष चुनिए। गत असारमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा आउने चाहना राखिन्। भण्डारीको चाहनामा ओलीले ‘ब्रेक’ लगाएपछि पोखरेल पार्टीभित्र नेतृत्वको सवालमा ओलीविरुद्धको मोर्चामा उभिएका हुन्।

पोखरेल मालेकालमै राम्रो संगठकका रुपमा परिचित थिए। ओली जेलमा बस्दा पोखरेलले संगठकको परिचय कमाइसकेका थिए। पञ्चायतकालमा करिब डेढ दशक भूमिगत जीवन बिताएका पोखरेल २०५४ सालमा राष्ट्रियसभा सदस्य, २०५६ र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। दुई पटक उपप्रधानमन्त्री बनेका उनले रक्षा, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायलको नेतृत्व गरिसकेका छन्।

भ्रष्टाचारका दोषी पहारीको हातमा अनुशासनको डण्डा

एमाले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्राध्यापक डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन्। आयोगको अध्यक्षमा अरु कसैले उम्मेदवारी नदिएपछि पहारी निर्विरोध भएका हुन्।

पहारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको डिन हुँदा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहारीविरुद्ध मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा विशेष अदालतले २०७५ सालमा पहारीलाई दोषी ठहर गरी १० महिना कैद र ९८ लाख रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। हाल उनी पोखरामा होटेल व्यवसाय गर्छन्। त्यस्तै अनुशासन आयोगको उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध भएका छन्। केन्द्रीय लेखा आयोगमा डा. पुष्पराज कँडेल निर्विरोध भएका छन्।

यसैगरी केन्द्रीय सदस्यमा केही नेता सर्वसम्मत भएका छन्। सर्वसम्मत हुनेमा अखिलका पूर्वमहासचिव नरेश रोकायादेखि मेनकाकुमारी पोखरेलसम्म छन्। मेनका एकालेका निवर्तमान महासचिव शंकर पोखरेलकी बहिनी हुन। रोकाया ४० वर्षमुनि युवा, खुलातर्फबाट सर्वसम्मत भएका हुन्। लुम्बिनीका लिलामणि गौतम पनि ४० वर्षमुनिका युवा क्लस्टरबाट सर्वसम्मत भएका छन्। लुम्बिनी प्रदेशबाट महिलामा गुमादेवी आचार्य (गोामा) र मेनकाकुमारी, शान्तीदेवी ढकाल पनि सर्वसम्मत भएका छन्।

प्रकाशित: २ पुस २०८२ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App