नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १८ वर्षपछि गृहजिल्ला झापाको क्षेत्र नम्बर–५ मा कठिन निर्वाचन लडिरहेका छन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन झापा–७ मा ओली तत्कालीन नेकपा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए ।
लिङ्देनले १६ हजार ९९ मत ल्याएर जित निकाल्दा ओलीले १४ हजार ९५९ मत मात्रै प्राप्त गरेका थिए। २०४८ देखि संसदीय राजनीति सुरु गरेका ओलीका लागि त्यो हार हालसम्मको एउटा मात्रै हार हो ।
त्यसपछि भएका २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ओलीले झापाबाट शानदार जित निकालिरहे ।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन) ओलीलाई रोक्न झापा–५ को मैदानमा उत्रिएका छन् । युवाहरूमाझ लोकप्रियता कमाएका बालेन नै मैदानमा उत्रिएपछि ओलीका लागि फागुन २१ को प्रतिनिधिसभा निर्वाचन कठिन देखिएको छ ।
यहीकारण ओली र एमालेले झापा–५को निर्वाचनलाई प्रतिष्ठासँग जोडेर प्रचारप्रसारमा ध्यान दिएको छ । यसैक्रममा पार्टीको घोषणापत्र बनाउन केही दिन काठमाडौं पुगेका ओली फेरि झापा फर्किसकेका छन् ।
झापा फर्किएर शनिबार उनी मतदाताको घरदैलो देखिए । त्यसका केही तस्बिरहरू ओली आफैले फेसबुकमा सार्वजनिक गरेका छन् । जसमा उनी मतदातासँगसँगै बालबालिकासँग रमाइरहेका देखिन्छन् । केही तस्बिरमा उनले बालबालिकालाई काखमै बसालेका पनि छन् ।




तस्बिर साभार : केपी शर्मा ओलीको फेसबुकबाट
प्रकाशित: २४ माघ २०८२ १५:१४ शनिबार





