नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरक्षा संयन्त्रबाट ‘श्रीलंका, बाङ्ग्लादेशमा भएको जस्तै घटना नेपालमा पनि हुनसक्छ’ भन्ने विश्लेषण पहिल्यै आएको स्वीकार गरेका छन्। नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै अध्यक्ष ओलीले त्यो कुरा स्वीकार गरे पनि एयर लिफ्टिङकै अवस्था आउनेमा भने कुनै कुरा नआएको दाबी गरे।
‘यस्तो गर्न सक्छन्, हामी सतर्क हुनुपर्ने भन्ने कुराको विश्लेषण भएको थियो। कुरा भएको थियो,’ ओलीले भने, ‘तर नेपालमा दुइटा कुरा थिए। एउटा नेपालका आफ्ना सामाजिक मूल्य मान्यता आदि छन्। नेपाली समाजका मूल्य मान्यताहरूले यस्तो गर्न दिँदैनन्। अर्काको घर जलाएर उसले मागेको के? अर्को कुरा, त्यस स्तरमा केही छँदै थिएन।’
त्यसलाई अलिकति सुरुदेखि नै नियन्त्रण गर्न खोजिएको भए सुरक्षा निकायले त्यो रोक्न सक्ने अवस्था रहेको उनले दाबी गरे। ‘यहाँ त बेग्लै! अब के थियो म जान्दिनँ,’ ओलीले भने।
‘सुरक्षा निकायले यस्तो खालको परिस्थितिमा तपाईँहरूलाई एयरलिफ्टिङ नै गर्नुपर्ने हुन्छ भनेर योजना पनि सुनाएका थिए रे!’ भन्ने नागरिकको प्रश्नमा ओलीले त्यो कुरा आज मात्रै सुनेको दाबी गरे। उनले भने, ‘एयरलिफ्टिङका कुरा कहाँबाट आए? त्यो त मैले त आज तपाईँबाट सुन्दै छु। कसैले मसँग एयरलिफ्टिङका कुरा गरेको छैन।’
भदौ २२ गते गोदावरीमा हाम्रो विधान महाधिवेशनबाट फर्किएर बेलुका सुरक्षा समितिका पदाधिकारीसँग छलफल गरेको उनले सुनाए। ‘त्यति बेला उहाँले जेन–जीका मुख्य माग बताउनुभएको थियो– शान्तिपूर्ण गर्छौ भनेका छन्, माइतीघर मण्डलाबाट एभरेस्टसम्म जान्छन्। शान्तिपूर्ण जुलुस त्यहाँबाट सिद्धिन्छ। त्यस कारण हामी धेरै ठुलो तयारी केही गर्नुपर्दैन,’ ओलीले भने। तैपनि आफूले ‘अप्रिय स्थिति होला। कहिलेकहीँ ठुलो तयारी नगर्दा अप्रिय स्थिति हुन सक्छ, अप्रिय स्थिति तर्फ जान नपाओस्, यदि त्यतातिर जान खोजे पहिले नै रोक्नु भनेर’ भनेको उनले दाबी गरे।
‘त्यस्तो आउँदैन, त्यस्तो हुँदै भनेर मलाई ब्रिफिङ गरिएको थियो,’ ओलीले भने, ‘अनि कहाँ हेलिकप्टर, एयरलिफ्टिङको कुरा आयो? त्यो कुरा थिएन। तर ग्लोबल ट्रेन्ड त हामीले हेरिराख्या थियौँ।’
प्रकाशित: ९ मंसिर २०८२ १९:३५ मंगलबार





