नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा फैलिने प्रायोजित भ्रम र हल्लाका पछाडि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
पछिल्लो समय समाजमा तथ्य नबुझी प्रतिक्रिया जनाउने प्रवृत्ति बढेको भन्दै उनले ‘कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि नदौडिन’ सुझाव दिएका हुन्।
आइतबार पार्टीको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनताको चेतनास्तर उच्च भए पनि सामाजिक सञ्जालको दुरुपयोगका कारण भ्रम सिर्जना भइरहेको बताए।
‘नेपाली जनतालाई कसैले झुक्याउन, अल्मल्याउन र भ्रममा पार्न सक्दैन भन्ने मैले ठानेको थिएँ, तर अहिले जनता अलमलिए,’ ओलीले भने, ‘अलिकति ‘तिम्रो कान लग्यो कागले’ भन्दा कान नछामी कागको पछि दौडिने प्रवृत्ति देखियो। त्यसैले अघिपछि भन्दा अहिले मुलुकमा जागरण अभियानको बढी आवश्यकता छ।’
विचार, त्याग र योगदानविना नै हिंसात्मक गतिविधिबाट सस्तो लोकप्रियता कमाउने प्रवृत्ति देखिएको भन्दै ओलीले प्रश्न गरे, ‘के काम गरेर वा बलिदान दिएर मान्छे लोकप्रिय भयो ? राज्यको सम्पत्ति, निजी व्यावसायिक प्रतिष्ठान र सञ्चारमाध्यमका उपकरण जलाएर मान्छे लोकप्रिय हुन्छ भन्ने मलाई थाहा थिएन।’
उनले सामाजिक सञ्जालको अल्गोरिदम र दुरुपयोगले यस्तो विकृति जन्माएको दाबी गरे। यस्तै, बाढीपहिरो प्रभावितको उद्धार तथा राहतमा सरकारले लापरबाही गर्न नहुने बताउँदै उनले विगतका गल्ती नदोहोर्याउन चेतावनी दिए।
पहिले भोटेकोशी र त्रिशूली बाढीका बेला सरकारी हेलिकप्टरको दुरुपयोग भएको र समयमै राहत नपुगेको उल्लेख गर्दै ओलीले यसपटक प्रभावकारी ढंगले उद्धार र पुनःस्थापनाको काम अघि बढाउन माग गरे।
विपद्पछिको पुनर्निर्माणमा सरकारको प्रमुख दायित्व भए पनि पार्टीका सम्पूर्ण नेता-कार्यकर्ता र जनवर्गीय संगठनहरूलाई समेत तत्काल राहत कार्यमा जुट्न उनले निर्देशन दिए।
प्रकाशित: २५ आश्विन २०८३ १५:५४ आइतबार


-600x400.jpg)

-600x400.jpg)
