वर्तमान संकट समाधानका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे मार्गचित्र प्रस्तुत गरेका छन्।
एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालबाट अध्यक्ष ओलीले वर्तमान समस्या समाधानका लागि सुझाएका उपायबारे जानकारी गराएका हुन्। ओलीले संसद् पुनर्स्थापना गरेर तीन महिनामा निर्वाचन गराउनुपर्नेसहितका कुरा अगाडि सारेका छन्।
जेन-जी र दललाई एकसाथ राखेर सरकारले वार्ता गर्ने तयारी गरिरहेको समयमा ओलीले यस्तो मार्गचित्र पेस गरेका हुन्। सरकारले बुधबार अपराह्न ४ बजे जेन-जी प्रतिनिधि र प्रमुख दलका नेताहरुसँग वार्ता गर्दैछ। जेन-जी आन्दोलनपछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो।
सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
रिजालले लेखेका छन् :
वर्तमान संकटको समाधानका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको मार्गचित्र१. असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभाको पुनः स्थापना
२. प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरूको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था
३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दाबी नगरिने स्पष्ट
४. जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन
५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव
६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनीतिक दलहरूबिच अग्रिम सहमति निर्माण
प्रकाशित: १२ कार्तिक २०८२ १२:४६ बुधबार


-600x400.jpg)


