१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

‘सबै काम एकैपटक हुँदैन’ भन्दै मतदाता फकाउँदै ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँगको भेटघाट र घरदैलो अभियानमा व्यस्त छन्।

सो क्रममा स्थानीय मतदाताले पुराना आश्वासन र विकासका काम अधुरै रहेको भन्दै गुनासो गरेपछि ओलीले सबै काम एकैपटक हुन नसक्ने भन्दै उनीहरूलाई सम्झाउने प्रयास गरिरहेका छन्।

आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेका ओलीलाई मतदाताले अघिल्लो पटक गरिएका बाचाहरू किन पुरा भएनन् भनी प्रश्न गरेका थिए। रेल, पानी जहाजका विषयमा ओलीलाई प्रश्न गरिएको थियो।

जवाफमा उनले विकास एक निरन्तर प्रक्रिया भएको र क्रमशः सबै काम पुरा हुने आश्वासन दिँदै धैर्य गर्न आग्रह गरे।

‘हामीले धेरै काम सुरु गरेका छौं, केही सम्पन्न भए, केही हुँदैछन्। सबै कुरा एकै पटकमा जादु गरे जस्तो हुँदैन,’ ओलीले भने।

उनले थपे, ‘एकैचोटि सबै कुरा त आइपुग्दैन नि। रेल नेपालमा चल्दै चल्दैन भन्थे, जनकपुर गएर हेर्नुस् रेल चलिसक्यो, लिक बनिसक्यो। पानीजहाज यहाँ चल्छ भनेको थिएँ, खोलामा चल्न थालिसक्यो। हामीले कोलकातासम्म लाने बन्दोबस्त गरिरहेका छौं।’

ओलीले आफ्नो कार्यकालमा भएका पूर्वाधार विकासका उदाहरण दिँदै भने, ‘हिमालयको ८८०० मिटर उचाइमा ग्यास र पेट्रोल पत्ता लागेको छ। त्यो परीक्षण उत्पादनको ठाउँमा पुगेको छ। यातायातको कुरा गर्नुहुन्छ भने चन्द्रगढीबाट धरान जान ७-८ घण्टा लाग्थ्यो, अहिले ११ मिनेटमा पुगिन्छ। संखुवासभा जान २० मिनेट जतिमा पुगिने भएको छ।’

उनले थपे, ‘अहिले गाउँ-गाउँमा पक्की बाटो पुगेको छ। पहिले पक्की बाटो हेर्न राजमार्ग पुग्नुपर्थ्यो, अहिले घर-घरमै पुगेको छ।’

सो क्रममा एक मतदाताले आफ्नो क्षेत्रको बाटो नबनेकोबारे गुनासो गरेका थिए। सोको जवाफ दिँदै ओलीले भने - ‘त्यो बाँकी रह्यो होला, बन्छ।’

प्रकाशित: २८ माघ २०८२ १८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App