नेकपा एमालेको ११औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओली प्रतिकूलतामा पनि प्रभावशाली देखिएका छन्। देशभरका करिब ७५ प्रतिशत प्रतिनिधिले ओलीलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेपछि उनी प्रतिकूल परिस्थितिमा पनि प्रभावी देखिएका हुन्।
विघटित प्रतिनिधिसभामा दोस्रो ठुलो दलका रूपमा रहेको एमालेलाई विशेष गरी जेनजीआन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटना, परिघटनाबिच नेतृत्व गर्ने चुनौती रहेका बेला ओली फेरि नेतृत्वमा आएका हुन्। उनी नेतृत्वमा आएसँगै एमालेलाई कता लैजाने हुन् र राष्ट्रिय राजनीति के हुने हो भन्ने कौतुहलता पैदा भएको छ।
लामो समय सत्तामा बसेका ओलीप्रति पार्टीबाहिर विरोधीहरूको स्वर उच्च छ। पार्टीभित्रको जनमतको नेता बने पनि मुलुकको समग्र नेता बन्न ओलीका लागि चुनौती छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्रप्रति ओलीले चुनाव गराएर आफू अनुमोदित हुँदा पार्टीबाहिर भने उनका लागि अनुकूलता निकै कम देखिन्छ। जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा आएको फेरबदलले एमाले र त्यसको नेतृत्वमाथि निरन्तर प्रहार भइरहेको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसपछि सबैभन्दा बढी निसानामा एमाले परेको छ। पुराना दलहरू काम लाग्दैनन् भन्ने भाष्य निर्माण भइरहेका बेला ओली फेरि नेतृत्वमा आएका छन्। वर्तमान सरकारले गठन गरेको जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगले ओलीलाई बयानमा बोलाउने भनिरहेको छ। उनले त्यो आयोगलाई अस्वीकार गर्दै आएका छन्। आयोगले ओलीलाई धरपकड गरे एमाले नेता–कार्यकर्ताले प्रतिकार गर्न खोजे परिस्थिति असामान्य बन्ने अवस्था पनि आउन सक्ने देखिएको छ।
प्रतिनिधिसभा पुन:स्थापनाको नेतृत्व पनि एमालेले गरिरहेको छ। त्यसमा कांग्रेसलाई साथ लिएर जानुपर्ने बाध्यता एमालेलाई छ। प्रतिनिधिसभा पुन:स्थापना नभए सरकारले तयारी गरेको निर्वाचनमा एमाले सहभागी हुनुपर्नेछ। भर्खरै महाधिवेशन सकिएकाले पार्टी नेतृत्वमा आएका कारण सबैलाई मिलाएर चुनाव जाने वातावरण तयार गर्नुपर्ने दायित्व पनि ओलीकै काँधमा छ। पहिलो दायित्व अध्यक्षमा पराजित ईश्वर पोखरेलको टिमलाई समेट्नुपर्ने छ। पोखरेल प्यानलबाट महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भए। उनलाई दिने जिम्मेवारीको विषयले पनि पार्टीलाई एक ढिक्का बनाउने वा नबनाउने निर्धारण गर्नेछ। साथै प्यानल निर्वाचन भएकाले केन्द्रमा जिम्मेवारी बाँडफाँट नमिले जिल्ला तहमा पनि यसको असर देखिने भएकाले संघीय संसद्को आगामी निर्वाचन प्रभावित हुने देखिन्छ।
ओली विजयी हुँदै गर्दा उनको विश्वासिलो टिम पुरै विघटन भएको छ। आफ्नो सचिवालयमा रहेका र पार्टीलाई प्रविधिमैत्री बनाउने काममा खटिएको विष्णु रिमालले पदाधिकारी मात्र होइन, केन्द्रीय सदस्यमा पनि हार बेहोर्नुपरेको घटना ओलीका लागि सकारात्मक पक्ष मान्न सकिन्न। गुरु बराल, प्रदीप ज्ञवाली, आनन्द पोखरेल, राजेन्द्र गौतम, अग्नि खरेलजस्ता ओलीको स्थायी गुटका हस्ती पछि परेका छन्। तर पनि ओलीले आफूलाई बलियो बनाउँदै नयाँ संरचनामा लैजाने प्रस्ट पारेका छन्।
पार्टी नेतृत्वमा पुग्न यसअघि ओलीले आन्तरिक लोकतन्त्र, एक व्यक्ति–एक पद, बहु पदीय सामूहिक नेतृत्व र नेतृत्व हस्तान्तरणको अजेन्डा अघि सारेपछि झलनाथ खनालसँग आठौँ महाधिवेशनमा एक पटक हार बेहोरेका थिए। उनको त्यो मुद्दालाई पार्टी पंक्तिले स्विकार्यो तर उनले हारे। तर त्यही अजेन्डालाई निरन्तर बोकेर ओली नवौँ महाधिवेशनबाट नेतृत्वमा आएपछि आफ्नै अजेन्डाबाट क्रमशः टाढा टाढा हुँदै गए। १०औं महाधिवेशनमा ७० वर्षे उमेर हदलाई थोरै मिचेका उनी ११औं महाधिवेशनसम्म आइपुग्दा विधान संशोधन गरेरै तेस्रो कार्यकालका लागि मैदानमा उत्रिएपछि आन्तरिक लोकतन्त्रमा ब्रेक लागेको अनुमान गरिएको छ। जेनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको प्रश्न उठ्यो। जसले गर्दा फरक धारणा राख्नेहरूले ओलीसँग प्रतिस्पर्धा गरे।
नवौँ महाधिवेशनमा ओलीलाई उनको परम्परागत गुट मात्र होइन, मालेकालीन पुराना नेताहरूको साथ थियो। झापा सशस्त्र विद्रोहको अगुवा र १४ वर्ष जेल बसेका ओलीलाई एक पटक नेतृत्वमा देख्न चाहने हुटहुटी पनि थियो। सम्भवतः त्यसै कारणले प्रतिकूल स्वास्थ्य स्थितिमा पनि उनले चुनाव जितेका थिए। त्यसयताका एक दशक ओलीको लोकप्रियतामा उतारचढाव मात्र आएको छैन, हिजो ओलीलाई काँधमा बोक्नेहरू अहिले अर्को प्यानल बनाएर चुनाव लडेपछि वैधानिक रूपमा उनको गुट विघटन भएको छ।
दुई हजार २६३ मतदाताले १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समिति छनोट गर्दा अध्यक्ष पदमा ओली एक हजार ६६३ मतसहित निर्वाचित हुँदा पोखरेलले ५६४ मत मात्र ल्याए पनि त्यसको असर देशभर परेको छ। त्यस्तै शंकर पोखरेल महासचिवमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। पोखरेलसँग सुरेन्द्र पाण्डेले महासचिव पदमा प्रतिस्पर्धा गरेका थिए। पोखरेल एक हजार २२८ मतसहित महासचिव पदमा निर्वाचित हुँदा पाण्डे ९९९ मतमा सीमित भए। उनले केन्द्रीय सदस्यमा पनि हारे। १९ सदस्यीय पदाधिकारीमा पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्रै आएका छन्। तर उनीहरूको उपस्थितिलाई कमजोर मान्ने अवस्था भने छैन। त्यसकारण ओलीले पार्टीभित्रको फरक धार र विचारलाई सम्मान गरेर अघि बढ्नुपर्ने अवस्था छ।
‘ओलीबिनाको एमाले’ बनाउने षड्यन्त्र असफल
शपथग्रहण समारोहलाई सम्बोधनका क्रममा ओलीले पार्टीभित्रका आफ्ना विपक्षी र फरक धारको वकालत गरिरहेकाहरूलाई लक्षित गर्दै आफूबिनाको एमाले बन्नै नसक्ने दाबी गरेका छन्। ओलीले ‘ओलीबिनाको एमाले’ बनाउने प्रतिक्रियावादीहरूको चाहना र षड्यन्त्रलाई महाधिवेशन प्रतिनिधिले असफल बनाएको भन्दै उनीहरूलाई धन्यवाद दिए। पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै बिहीबार महाधिवेशन स्थलमा सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वलाई स्वीकार गरेर प्रतिनिधिहरूले विरोधीहरूको भ्रमलाई जवाफ दिएको बताएर पार्टीभित्रका नेताहरूलाई महाधिवेशन अवधिभरको जवाफी फायर गरेका थिए।
‘मेरा बारेमा अनेक प्रकारका शक्तिहरू, विभिन्न प्रकारका भ्रम फिँजाउने, मनोवैज्ञानिक आतंक र त्रास सिर्जना गर्ने, अनेक प्रकारका जालझेल र षड्यन्त्र भए,’ ओलीले भने, ‘ओलीबिनाको एमाले भन्ने जुन प्रतिक्रियावादीहरूको चेष्टा थियो, त्यसलाई तपाईंहरूले ध्वस्त पार्नुभएको छ। यस चेतनाका लागि म धन्यवाद भन्न चाहन्छु।’ सम्बोधनका क्रममा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि बाटो प्रशस्त गरिदिएको भन्दै नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र केशव बडालको उच्च प्रशंसा गरे। उनले यी नेताहरूले पदमा टाँसिइरहने प्रवृत्ति अन्त्य गर्दै लोकतान्त्रिक अभ्यास र पुस्तान्तरणको नमुना पेस गरेको बताए। ‘उहाँहरूले आफूले अब कुनै संगठनको जिम्मेवारी नलिईकन सेवा गर्ने भनेर जुन लोकतान्त्रिक अभ्यास र पुस्तान्तरणको नमुना प्रस्तुत गर्नुभएको छ, त्यसका लागि म सिंगो पार्टीका तर्फबाट सम्मान व्यक्त गर्छु,’ ओलीले भने।
ओलीले रातभर जाग्राम बसेर मतदान प्रक्रियामा सहभागी भएको भन्दै महाधिवेशन प्रतिनिधिहरूको उत्साहको सराहना गरे। उनले दुई हजार २६३ मतदातामध्ये झन्डै शतप्रतिशत मतदान हुनुले कार्यकर्ताको पार्टीप्रतिको निष्ठा देखिएको बताए। दुई हजार २२७ जना मतदानमा सहभागी भएका थिए। ‘कतिपय मिडियाले थकाइ लाग्यो भनेर प्रचार गरे तर हाम्रा साथीहरू कति जोसका साथ छमछमी नाचेर लाइनमा बस्नुभयो,’ ओलीले भने, ‘दिन गयो, रात ढल्यो तर साथीहरू झन् जोसिएर लाग्नुभयो। म यो उत्साहलाई सलाम भन्न चाहन्छु।’
एमालेमा अटुट रहन्छु : पोखरेल
अध्यक्ष पदमा पराजित ईश्वर पोखरेलले विजयी नयाँ नेतृत्वलाई बधाई दिँदै आफू हारे पनि पार्टीको अभियानमा रहिरहने बताएका छन्। एमालेमा आफ्नो संलग्नता अटुट रूपमा रहने जनाउँदै पोखरेलले सामाजिक सञ्जालबाट ओलीलाई बधाई दिएका छन्। आफू विजयी हुन नसके पनि एमालेको अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता पोखरेलले जनाएका छन्।

‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु,’ पोखरेलले लेखेका छन्, ‘नेकपा एमालेको निर्वाचित नयाँ नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस्, हार्दिक शुभकामना व्यक्त गर्छु।’ यस क्रममा उनले आफूलाई विश्वास गरी मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति धन्यवाद ज्ञापन पनि गरेका छन्।
ओलीको राजनीतिक यात्रा
२०७१ साल असारमा भएको नवौँ महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले हराएका केपी शर्मा ओली त्यसयता निरन्तर अध्यक्ष छन्। गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले उनलाई तेस्रो पटक अध्यक्ष हुने ढोका खुला गरेको हो। विधान महाधिवेशन लगत्तै भएको जेनजी आन्दोलनको प्रभावका कारण एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दा जोडतोडले उठ्यो। नेतृत्व छाड्न तयार नभएका ओलीले नियमितभन्दा एक वर्षअघि नै ११औं महाधिवेशन गराएर अनुमोदन हुन खोजे। महाधिवेशनमा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिए। महाधिवेशनले नेतृत्वमा फेरि ओलीलाई नै रोज्यो। पार्टी अध्यक्षमा ह्याट्रिक गरेका ओली प्रतिस्पर्धी पोखरेललाई १०९९ मतले पछाडि पारे।
ओली २०७४ सालमा तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको पनि अध्यक्ष हुन्। एमाले र माओवादी केन्द्र अलगअलग भएपछि एमालेबाट बाहिरिएको माधवकुमार नेपाल पक्षले नेकपा एकीकृत समाजवादी गठन गरे। एमालेमा विभाजन भएपछि २०७८ सालमा चितवनको सौराहमा भएको १०औं महाधिवेशनबाट पनि ओली अध्यक्षमा निर्वाचित भएका थिए। १०औं महाधिवेशनमा पनि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर ओलीलाई सर्वसम्मत हुनबाट रोकेका थिए।
११औं महाधिवेशनमा ओली र पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिए। यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको छ। मुलुकको समकालीन राजनीतिमा जुझारु र हठी नेताका रुपमा चिनिने ओली विपक्षीप्रति अनुदार मानिन्छन्। ओली राष्ट्रियताका पक्षमा स्पष्ट अडान राख्ने नेताका रुपमा पनि चिनिन्छन्। झापा विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका ओली कम्युनिस्ट राजनीति गरेको आरोपमा पञ्चायतकालमा करिब डेढ दशक जेल बसेका थिए। ओली मुलुकमा २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि गृहमन्त्री, २०६२/६३ को आन्दोलनपछि उपप्रधान एवं परराष्ट्रमन्त्री र २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि चार पटक प्रधानमन्त्री भएका छन्। ओली गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सत्ताच्युत भएका हुन्। पछिल्लो पटक ओली २०८१ असार ३१ गते नेपाली कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री भएका थिए। जेनजी आन्दोलनको राप ताप थेग्न नसकेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली केही दिन सेनाको सुरक्षा घेरामा बसेका थिए।
२०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी भएपछि २४ गते ओली पहिलो पटक प्रधानमन्त्री बनेका हुन्। २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री भएका ओली २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष भएका थिए। नेकपामा दुई अध्यक्षको व्यवस्था गरिएको थियो। जसको पहिलो वरीयतामा ओली र दोस्रोमा पुष्पकमल दाहाल थिए। नेकपा गठनसँगै पार्टीभित्र उत्पन्न विवादका कारण ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। विघटनको कदमलाई सर्वोच्च अदालतले अवैध ठहर गरिदियो। ओलीले फेरि प्रतिनिधिसभा विघटन गरे। त्यसलाई पनि सर्वोच्चले अवैध ठहर गरेपछि उनी प्रधानमन्त्रीको तेस्रो कार्यकालबाट बाहिरिएका थिए।
ओली १५ वर्षकै उमेरमा २०२३ सालमा रामनाथ दाहालको अगुवाइमा रहेको मार्क्सवादी अध्ययन दलमा सामेल भएका थिए। ओली २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिस्ट पार्टी (माले) को संस्थापकमध्येका नेता हुन्। त्यसबेला ओली जेलमा थिए। ओली २०४४ साल असार ११ गते जेलबाट रिहा भएका थिए। सोही वर्षको पुस २ मा बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकबाट उनी केन्द्रीय सदस्य भएका थिए।
११ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल
उपमहासचिव : लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई
सचिव : महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, भानुभक्त ढकाल
पदाधिकारीमा गुरुङलाई बढी मत
१९ सदस्यीय पदाधिकारीमा पृथ्वी सुब्बा गुरुङ सबैभन्दा बढी १ हजार ७३७ मतसहित उपाध्यक्षमा विजयी भएका छन्। पूर्वउपमहासचिव उनले अध्यक्षमा निर्वाचित केपी ओलीले भन्दा ७४ मत बढी पाए। ओलीले १ हजार ६६३ मत पाए। उपाध्यक्षका पाँच पद छन्। अन्य उपाध्यक्षमा विष्णुप्रसाद पौडेल १ हजार ६७५, रामबहादुर थापा १ हजार ५१६, गोकर्ण विष्ट (पोखरेल समूह) १ हजार ३६८ र रघुजी पन्त १ हजार २५८ मतसहित निर्वाचित भए। त्यस्तै पदाधिकारीमा पर्ने ९ सचिवमध्ये महेश बस्नेतले सबैभन्दा बढी एक हजार ५४४ मत पाए। केन्द्रीय सदस्य खुलातर्फ प्रदीप ज्ञवाली सर्वाधिक १ हजार ९४२ मतसहित विजयी भए।
मूल घर फर्केका झाँक्रीसहित चार केन्द्रीय सदस्य
एमालेबाट विभाजित भई माधवकुमार नेपालले गठन गरेको तत्कालीन नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा गएका र करिब दुई महिनाअघि नेकपा एसको नेपाल समूह माओवादी केन्द्रसँग मिलेपछि एमालेमै फर्केका रामकुमारी झाँक्रीसहित चार जना केन्द्रीय सदस्य विजयी भएका छन्। नेकपा एसबाट आएका राजु गुरुङ भने केन्द्रीय सदस्यमा पराजित भए भने झाँक्री १९११, कृष्णकुमार श्रेष्ठ (किसान) १५६०, पार्वती विशुंखे (दलित महिलातर्फ) १८९५ र भोलानाथ पोखरेल (श्रमिक क्लस्टर खुलातर्फ) १५२६ मतसहित निर्वाचित भएका छन्।
हालसम्म एमाले नेतृत्वमा को को ?
स्थापनादेखि हालसम्म एमालेले ११ वटा महाधिवेशनबाट नेतृत्व चयन गरेको छ। ११औं महाधिवेशनबाट केपी ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। पहिलो महाधिवेशन पाटनको ललितपुर, दोस्रो काठमाडौंको फोहरा दरबार, तेस्रो भारतको बनारस, चौथो महाधिवेशन सिराहको विष्णुपुरकट्टी–सर्रे अम्बासमा भएको दस्ताबेज छ। त्यस्तै एमाले महाधिवेशन पाँचौँ काठमाडौं, छैटौँ नेपालगन्ज, सातौँ जनकपुरधाम, आठौँ बुटवल, नवौँ काठमाडौं र दसौँ चितवनमा भएका थिए। ११औं महाधिवेशन भक्तपुरमा उद्घाटन भई काठमाडौंमा सम्पन्न भएको छ।
उल्लिखित महाधिवेशनहरूबाट संस्थापक पुष्पलालसहित क्रमशः मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी, तुलसीलाल अमात्य, मदनकुमार भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली नेतृत्वमा पुगेका थिए, छन्। सिपी मैनाली नेकपा (माले)को संस्थापक महासचिव भए पनि महाधिवेशन गर्ने बेला झलनाथ खनालले नेतृत्व सम्हालेका थिए। अमात्यको नेतृत्वलाई पछ्याउँदै मैनाली आएकाले एमालेको लिगेसीमा अमात्य र मैनाली छुटाउन नहुने दुई पात्र हुन्।
प्रकाशित: ४ पुस २०८२ ०७:०० शुक्रबार





