१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै, सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिटको तयारी

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेस नेता रमेश लेखकलाई आइतबार (आज) अदालतमा उपस्थित गराइने भएको छ।

जानकारी अनुसार म्याद थपका क्रममा आज काठमाडौं जिल्ला अदालतमा ओली र लेखकका तर्फबाट ठूलो सङ्ख्यामा वकिलहरूले बहस गर्ने तयारी गरेका छन्। आज नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्ने तयारी छ।

शनिबार बिहान पक्राउ परेका दुवैलाई सार्वजनिक बिदा भएकाले हिरासतमा राख्दै थप अनुसन्धानका लागि अनुमति माग गर्न आइतबार अदालतमा पेस गर्न लागिएको हो। यस प्रक्रियाअन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालतमा लगिनेछ।

कानुनी प्रावधानअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ। तर त्यसका लागि जिल्ला अदालतबाट अनुमति लिनु आवश्यक पर्ने प्रहरीले जनाएको छ।

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको हिंसा र हताहतको छानबिन आयोगले दोषी ठहर गरेपछि शनिबार बिहान निवासबाटै पक्राउ गरिएको थियो। 

नियन्त्रणमा लिएपछि ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएकोमा डाक्टरको सुझावअनुसार त्यहीँ भर्ना गरिएको छ। लेखकलाई भने प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ।

प्रकाशित: १५ चैत्र २०८२ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App