पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीले नेपाली कांग्रेसले चाहे राजतन्त्र आउन सात दिन पनि नलाग्ने टिप्पणी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै मैनालीले अहिलेको अवस्थामा राजतन्त्र आउने कुनै सम्भावना नरहेको दाबी गर्दै तर कांग्रेसले चाहेमात्र राजतन्त्र आउनसक्ने बताएका हुन्।
‘अहिलेसम्म राजनीतिक दल कसैले पनि राजा बोक्छौं भनेका छैनन्,’ मैनालीले भने, ‘भोलि संयोग मानौं नेपाली कांग्रेसले राजा बोक्छौं भन्यो भने देशमा राजा आइहाल्छ।’
अन्य दल भन्दा कांग्रेसले भने सातै दिनमा राजा आइहाल्ने उनले ठोकुवा गरे।
‘दलमा अहिलेसम्म सजिलो मतदाताको ठुलो संख्या कांग्रेसकै छ अहिले पनि। एमालेमा पनि ६० नाघेको ठुलो पिँढी अहिले पनि राजा नै चाहियो भन्छ,’ उनले दाबी गरे। तर दलले नभनी राजा नआउने उनले बताए।
सेनाकै बलमा राजा आएपनि दलले नबोके दीगो नहुने पनि उनले बताए। ‘अहिले राजा आएर कसैले नबोक्ने हो भने टिक्दैन। कि त राजनीतिक दलले बोक्नुप¥यो,’ उनले भने।
सेनाले बोकेर राजा दुई महिना चार महिना वा बढीमा छ महिनासम्म मात्रै टिक्नसक्ने मैनालीले दाबी गरे।
प्रकाशित: १२ कार्तिक २०८२ २०:३२ बुधबार





