राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य बालेन्द्र शाह पार्टी संसदीय दलको नेता चयन भएका छन्। दलको नेता भएसँगै उनलाई प्रधानमन्त्री हुने बाटो खुलेको छ। रास्वपा केन्द्रीय समितिको बिहीबार बसेको बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई संसदीय दलको नेता चयन गर्न राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएसँगै उनलाई सरकारको नेतृत्व गर्न बाटो खुलेको हो। बैठक पार्टी केन्द्रीय कार्यालयमा बसेको हो।
संसदीय दलको नेतामा चयन भएका शाहलाई बैठकमा पार्टी सभापति लामिछानेले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिए। बैठकले बालेनलाई संसदीय दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको जानकारी पार्टी प्रवक्ता एवं सांसद मनीष झाले दिए।
राष्ट्रपति पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने कार्यक्रम छ। शपथ लिएलगत्तै उनले पदभार ग्रहण गर्ने छन्। ३६ वर्षमा हिँड्दै गरेका शाह २०४७ सालपछिका कान्छा प्रभानमन्त्री हुनेछन्। २०४६ सालमा मुलुकमा बहुदलीय व्यवस्था पुर्नस्थापना भएयता ४० वर्ष उमेरमुनिबाट कोही पनि प्रधानमन्त्री भएका थिएनन्।
रास्वपाले सरकारका मुख्यसचिव सुमन अर्याललाई पत्र लेखी शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रमको व्यवस्थापन गरिदिन आग्रह गरेको छ। रास्वपाका महासचिव कविन्द्र बुर्लाकोटीले कार्यक्रमको सम्पूर्ण व्यवस्थापन मिलाइदिन पत्रमार्फत मुख्यसचिव अर्याललाई आग्रह गरेका हुन्। सोही अनुरुप राष्ट्रपतिको कार्यालयमा शुक्रबार दिउँसो १२ः३४ बजे प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रमको व्यवस्था मिलाइएको छ। पत्रमा पार्टीका नेता शाह संसदीय दलको नेता चयन भएको जानकारी पनि गराइएको छ। संसदीय दलको नेता प्रधानमन्त्री हुने भएकाले प्रक्रिया पुर्याएर शाह प्रधानमन्त्री नियुक्त हुने छन्।
प्रधानमन्त्रीको शपथ समारोहलाई परम्परागत र सांस्कृतिक रूपमा विशेष बनाउने तयारी गरिएको शाहको सचिवालयले जनाएको छ। शपथ समारोहमा १०८ जना बटुकले स्वस्ती वाचन गर्ने, १६ जना भिक्षुले अष्टमंगल पाठ गर्ने र सात वटा शंख एकसाथ बजाउने तय भएको छ। शाहले प्रधानमन्त्रीको शपथ लिएपछि दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट पुराना पार्टीलाई किनारा लगाउँदै रास्वपाले दुई तिहाइ नजिकको बहुमत (प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ सहित १८२ सिटमा जित) पाएको छ। प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत मधेसकेन्द्रित दलका शीर्ष तहका नेता पराजित मात्र भएनन्, ती दलले निकै कम सिटमा मात्र जित निकाले । प्रतिनिधिसभामा प्रतिपक्षीको भूमिका रहने सांसदको संख्या न्यून छ।
निर्वाचनमा पुराना दलबाट पटकपटक प्रधानमन्त्री, मन्त्री र सांसद भएका नेतासमेत पराजित भए। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसका सभापति गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत पराजित भए।
कांग्रेसका उच्च तहका नेताहरू विमलेन्द्र निधि, प्रदीप पौडेल, गुरुराज घिमिरे, शेखर कोइराला, उदयशमशेर राणा, फरमुल्लाह मन्सुर, प्रकाश स्नेही रसाइलीलगायत पराजित भए। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कांग्रेसका १८ जना निर्वाचित भए। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट २० जना निर्वाचित भएका छन्। त्यसैगरी एमालेका अधिकांश पदाधिकारीहरु निर्वाचनमा पराजित भए।
एमालेका ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, शंकर पोखरेल, महेश बस्नेत, राजन भट्टराईलगायत पराजित भए। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ एमालेका ९ जना मात्र निर्वाचित भए। समानुपातिकतर्फ एमालेले १६ सिट जितेको छ।
नेकपाका नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, भीमबहादुर रावल, गिरिराजमणि पोखरेल, राजेन्द्रप्रसाद पाण्डे, प्रेमबहादुर आले, महेन्द्र राय यादवलगायत पराजित भए। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नेकपाका संयोजक पुष्पकमल दाहालसहित ८ जना मात्र निर्वाचित भए। नेकपाले समानुपातिकतर्फ ९ सिट पाएको छ।
हर्क साम्पाङ राई श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन र समानुपातिकमा चार गरी सात सिट जितेको छ। यो दल निर्वाचन मिति घोषणपछि स्थापना भएको हो। राप्रपाले प्रत्यक्षमा एक र समानुपातिकमा तीन गरी चार सिट जितेको छ।
मधेसकेन्द्रित राष्ट्रिय मुक्ति पार्टीका नेता एवं पूर्वमन्त्री राजेन्द्र महतो, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रलगायतका नेताहरु पनि पराजित भए । यसरी जनमत पुराना दलको विपक्षमा र रास्वपाको पक्षमा पुगेको हो।
को हुन् बालेन्द्र साह?
काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी भएका हुन्। प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि मेयरबाट राजीनामा दिएका उनी रास्वपामा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका हुन्। रास्वपा शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको थियो। रास्वपाले पूर्वघोषणाअनुरुप शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेता चयन गरेको छ। शाहले शुक्रबार कार्यकारी प्रधानमन्त्री पदको शपथसँगै मुलुकको बागडोर सम्हाल्ने छन्।
शाहको जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको हो। उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन्। उनको पुख्र्यौली थलो मधेस प्रदेशको महोत्तरी जिल्ला हो।
काठमाडौं नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले उच्च माध्यमिक तहको शिक्षा भिएस निकेतनबाट पास गरेका हुन्। उनले स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट पूरा गरेका हुन्। त्यहाँ उनले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए। उनले स्नातकोत्तर तहको अध्ययन भारतमा गरेका हुन्। भारतको कर्नाटकबाट स्ट्रकचरल इन्जिनिरिरिङ अध्ययन पूरा गरेका शाहलाई निर्माणसम्बन्धी कार्यको अनुभव पनि छ।
२०७२ सालको भूकम्पपछि देशका विभिन्न स्थानमा पुगेर उनी पुनःनिर्माणको काममा संलग्न भएका थिए। भूकम्प र कोभिड महामारीका बेला विभिन्न तरिकाले सामाजिक र पेसागत कार्यमा सक्रिय रहेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट निर्वाचित भए। बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत भएर काम गरेका उनी र्याप ब्याटल गायक पनि हुन्। उनी नेपाली र्याप ब्याटल दोस्रो लिगका विजेता पनि हुन्। उनी लामो समयदेखि संगीतको यो विधामा संलग्न छन्। र्याप गायक उनका देश विदेशमा थुप्रै प्रशंसक छन्। सानैदेखिे संगीत र कवितामा पनि रुचि राख्ने उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा गाएका थिए। यो गीत उनले कक्षा ९ मा पढ्दा लेखेको बताइन्छ।
‘म सडकमा छु, म फरक देखिन्छु
त्यो उज्यालोमा पनि म अँध्यारोमै छु ...
दिन ढल्दै जान्छ, रात पनि आउँछ...
सुनौलो बिहानी जीवनमा कहिले आउँछ... ।’
यसपछि उनी र्याप गायनमा लागे। उनले २०७४ वैशाख ३१ गते फेसबुकमा लेखेका थिए, ‘मैले आज भोट गरिनँ। म उम्मेदवार थिइनँ। मैले सिभिल इन्जिनियरिङमा स्नातक गरें। म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छु। मलाई देश बनाउन आउँछ। म अर्को पटक भोट गर्छु र आफैंलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन ।’
त्यसपछि उनले यस्तो गीत गाए :
पुरानो भो इतिहास केही फेरिएन
बाँकी हुँदा यति सास मोह मेटिएन
कहाँ कुद्छ रेल, यहाँ बाटो भेटिएन
मलाई बोल्न दे सरकार
मलाई बोल्न दे सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डराउँदैन
कानुन पो लाग्छ कि, आवाज उठाउँदैमा
बलिदानको गीतमा मेरो शब्दको सलामी
गाउँगाउँबाट उठ युवा कलम थामी।।
२०७४ सालमा उनले भने जस्तै २०७९ को स्थानीय तह निर्वाचनमा मेयरमा उम्मेदवारी दिए र विजयी भए। त्यसको तीन वर्षमा मेयर पदबाट राजीनामा दिएर प्रतिनीधिसभा सदस्य निर्वाचनमा होमिएका उनी झापा– ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ५० हजार बढी मतान्तरले पराजित गर्दै विजयी भए। उनले ६८,३४८ मत पाएका थिए।
वास्तुमा भरोसा
बालेन्द्र शाहले बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिनुअघि उनका ज्योतिषीहरुले प्रधानमन्त्री कार्यालयको निरीक्षण गरेका छन्। जेनजी विद्रोहका क्रममा तत्कालीन प्रधानमन्त्री कार्यालय ध्वस्त भएपछि गृह मन्त्रालयको नयाँ भवनमा रहेको प्रधानमन्त्री कार्यालयमा ज्योतिषीहरु पुगेका हुन्। उनीहरुले प्रधानमन्त्री बस्ने कुर्सीको निरीक्षण गर्दै यसअघिको कुर्सीमा नबस्न सुझाव दिएकाले वास्तुशास्त्र अनुसारको नयाँ कुर्सी र टेबुल तयार गरिएको छ। ‘प्रधानमन्त्री सुशीला कार्कीले प्रयोग गरेको कुर्सीमा नबस्न र टेबुल–कुर्सीको दिशा बदल्न ज्योतिषीहरूले बालेन्द्र शाहलाई सल्लाह दिएपछि सबै नयाँ सेटअपमा तयार पारिएको हो’, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने। ती कर्मचारीका अनुसार वास्तुशास्त्रअनुसार टेबुलकुर्सी मिलाएर राखिएको छ।
नयाँ कुर्सी–टेबुलको सेटअप तयार पारेपछि पनि शाह पण्डित र ज्योतिषीहरुले थप निरीक्षण गरेका थिए। उनले शुक्रबार २ः१५ को साइतमा पारेर प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने समय तोकिएको छ। नयाँ प्रधानमन्त्री आउने भएपछि जेनजी आन्दोलनका क्रममा ध्वस्त सामानहरु छोपेर कार्यालय परिसरमा सरसफाइ गरिएको छ। सिंहदरबार वरपर पनि सरसफाइ गरिएको छ।
पहिलो निर्णय के गर्लान्?
प्रधानमन्त्री पदको शपथ लिएपछि बालेन्द्र शाहले पहिलो निर्णय के गर्लान् भन्ने कौतुहलता सिर्जना भएको छ। जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी पनि नयाँ प्रधानमन्त्री शाहको काँधमा आएकाले उनले पहिलो निर्णय के गर्लान् भनेर नागरिक कुरिरहेका छन्। जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन र मानवअधिकार आयोग प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा नयाँ सरकारले कस्तो निर्णय गर्ला भन्ने कौतुहलता नागरिकमा छ। कार्की आयोगको प्रतिवेदन कार्यान्वयन भए एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि कांग्रेस नेता रमेश लेखक र सुरक्षा अंगका तत्कालीन प्रमुखहरुलाईसमेत कारबाही गर्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा यो सम्भव छ कि छैन भन्ने जिज्ञासा पनि उत्पन्न भएको छ।
नयाँ सरकारले दैनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्ने रास्वपाका नेताहरुले बताइरहेका छन्। प्रधानमन्त्रीका रुपमा सिंहदरबारमा कार्यभार सम्हाल्दा शाहले गर्ने पहिलो निर्णयले दूरगामी महत्त्व राख्ने छ। डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि आफूले स्वदेशमा बनेको गाडी प्रयोग गर्ने पहिलो निर्णय लिएका थिए। यो निर्णयले उनको प्रशंसा भएको थियो। त्यो निर्णय केही महिना टिके पनि पछि कार्यान्वयन भएन। उनले केही महिना हुलास मोटर्स प्रालिले नेपालमै बनाएको ‘मुस्ताङ जिप’ प्रयोग गरेका थिए। केही समय त्यो निर्णय टिके पनि पछि त्यसअनुसार भएन।
प्रधानमन्त्री सुशीला कार्कीले कार्की आयोगको प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरेकी छन्। यी प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेबारी पनि शाहको काँधमा आउने छ। सुशासन मार्गचित्र कार्यान्वयन भएमा सेवा प्रवाहमा सहज हुने छ। नयाँ सरकारले जेनजी आन्दोलनका क्रममा ध्वस्त सिंहदरबारको मूल भवनलगायत विभिन्न सरकारी संरचना पुनर्निर्माण गर्नुपर्ने छ। त्यसकारण प्रधानमन्त्री भएपछि शाहले गर्ने पहिलो निर्णयले सरकार सञ्चालनको रुप तयार हुनेछ।
प्रकाशित: १३ चैत्र २०८२ ०६:५० शुक्रबार





