राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा परिवर्तनका लागि सबै नयाँ राजनीतिक शक्तिहरू एक हुनुपर्ने बेला आएको बताएका छन्।
उनले पुराना दलहरूलाई प्रतिशोधले नभई स्वस्थ चुनावी प्रतिस्पर्धाबाट हराउनुपर्नेमा जोड दिँदै सके एक्लै, नसके सबै नयाँहरू मिलेर उनीहरूलाई परास्त गर्नुपर्ने बताए।
शनिबार एक भिडियो सन्देशमार्फत पुनः कारागार जान लागेको घोषणा गर्ने क्रममा लामिछानेले देशको अबको राजनीतिक दिशाबारे आफ्नो धारणा राख्दै नयाँ शक्तिहरूको एकतामा जोड दिएका हुन्।
उनले पुराना राजनीतिक दलहरूप्रति प्रतिशोधको भावना राख्न नहुने बताए। ‘पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने केही पनि छैन। उनीहरूले जति जाने त्यति गरे,’ लामिछानेले भने, ‘इतिहासका विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउन उनीहरूले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ।’
उनले मुख्य कुरा स्वस्थ प्रतिस्पर्धा भएको र त्यसैमार्फत पुराना दलहरूलाई विस्थापित गर्नुपर्ने बताए। ‘स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ। सके एक्लै, नसके सबै नयाँहरू मिलेर,’ उनले भने।
भिडियो सन्देशमा उनले आफ्नै पार्टीका नेता-कार्यकर्ताहरूलाई समेत पार्टी कब्जा गर्ने होडमा नलागी, पार्टी निर्माणमा जुट्न आग्रह गरे। ‘पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै अटाउँछौँ,’ उनले भने।
प्रकाशित: २८ भाद्र २०८२ १७:५७ शनिबार





