१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन प्रतिनिधि छनोटका लागि ताप्लेजुङमा ६ गते मनोनयन दर्ता

नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधिका चयनका लागि ताप्लेजुङमा मंसिर ६ गते मनोनयन दर्ता हुने भएको छ।

एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोट जिल्ला स्तरीय निर्वाचन समितिका संयोजक राजकुमार चुँडालका अनुसार मंसिर ६ गते बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरूलाई दरखास्त फारम वितरण गरिने छ। सोही दिन बिहान ११ देखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता हुने भएको छ भने साँझ ५ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने भएको छ।

मंसिर ७ गते बिहान १० देखि मध्यान्ह १२ बजेसम्ममा उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन समितिले जनाएको छ। उम्मेदवारविरुद्ध उजुरी प्राप्त भए निर्वाचन समितिले सोही दिन दिउँसो २ बजे भित्रमा छानबिन सकेर उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ।

यसैगरी, मंसिर ८ गते अपरान्ह ४ बजेसम्म उम्मेदवारहरूलाई नामावली फिर्ताको समय दिइएको छ भने सोही दिन साँझ ५ बजे निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। मंसिर १३ गते बिहान १० देखि अपरान्ह ४ बजेसम्म मतदान हुने गरी निर्वाचन समितिले कार्यतालिका प्रकाशन गरेको छ। निर्वाचनअघि सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गर्न सहमतिको अधिकतम् प्रयास गरिने नेताहरूले बताएका छन्।

ताप्लेजुङमा नेकपा एमालेका ७ हजार ९१ जना संगठित सदस्य रहेको नेकपा एमाले ताप्लेजुङका सचिव तथा प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिए। संगठित सदस्यका आधारमा ६ जना खुल्लाबाट, ४ जना महिलाबाट र दलित तथा युवा उमेर समूहबाट १–१ जना गरी ताप्लेजुङबाट १२ जना महाधिवेशन प्रतिनिधि चयन हुने छन्। प्रतिनिधि छनोट गर्दा २०८२ चैतसम्म नवीकरण प्रमाणित सदस्यताको संख्या मुख्य आधार हुनेछ।

यस पटक विशेष आरक्षण गरिएको ४० वर्षमुनिका युवा प्रतिनिधिका लागि मापदण्ड तोकिएको छ। युवा प्रतिनिधि बन्न २०८२ मंसिर १३ गतेसम्म ४० वर्ष ननाघेको हुनुपर्ने छ। यसका अतरिक्त पार्टी सदस्यता कम्तीमा ७ वर्ष पुगिसकेको हुनुपर्ने मापदण्ड बनाइएको छ। छनोट भएका प्रतिनिधिहरूको नाम, सदस्यता नम्बर, फोन नम्बर र फोटोसहितको विवरण मंसिर १५ गतेभित्र सम्बन्धित कमिटी प्रमुखले आधिकारिक रूपमा पठाइसक्नुपर्ने निर्णय केन्द्रीय संगठन विभागले यसअघि नै गरिसकेको छ।

प्रकाशित: ४ मंसिर २०८२ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App