नेपाली कांग्रेस बागमतीका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मंसिरमा नियमित र विशेष कुनै पनि महाधिवेशन सम्भव नभएको बताएका छन्। बिहीबारबाट सुचारु भएको कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै बानियाँले यस्तो बताएका हुन्।
‘अहिले विशेष महाधिवेशनको बहस भइरहेको छ। प्रस्ताव दर्ता भएको तीन महिनामा गर्नुपर्ने विशेष महाधिवेशन पनि मंसिरभित्र हुने अवस्था देख्दिनँ,’ बानियाँले भने, ‘क्रियाशील सदस्यताको प्रगति हेर्दा नियमित महाधिवेशन त झन् सम्भव नै छैन।’
यस्तो अवस्थामा कांग्रेसले हचुवाको निर्णय भन्दा परिपक्व निर्णय गरेर जानुपर्ने उनले बताए। उनले भने,‘मानौं अहिले महाधिवेशनको मितिबारे निर्णय गरेर जाने भयो। र, पछि त्यसलाई कार्यान्वयनको वातावरण नबनाइ अर्को निर्णय गर्नुपर्ने भयो भने के हुन्छ? त्यसरी त नेपाली कांग्रेस अपरिपक्व पार्टी ठहरिन्छ।’यस्तो अवस्था सबैले मनन् गरेर जानुपर्ने उनले बताए।
पार्टीभित्र अहिले चलिरहेको महाधिवेशनको विवादमा सबैले विन–विनको अवस्था सिर्जना गरेर निर्णयमा पुग्नुपर्ने सभापति बानियाँले सुझाए।
प्रकाशित: १३ कार्तिक २०८२ १८:२० बिहीबार



-600x400.jpg)

