पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएकी छन्।
दाङको बङ्गलाचुली गाउँपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको छैटौँ बङ्गलाचुली गाउँपालिका कप–२०८२ को उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले जेनजी आन्दोलनले मुलुकमा सबै दलहरूलाई सच्याउने र सच्चिने अवसरसहित नयाँ निर्वाचनको मिति घोषणा भएकाले समयमै निर्वाचन हुनुपर्ने बताइन्।
मुलुकको स्वाधिनता र उपलब्धिको रक्षाका लागि प्रतिनिधि सभाको निर्वाचन समयमा सम्पन्न गर्न दलहरू तयार बन्नुपर्नेमा जोड दिँदै उनले तोकिएको निर्वाचनलाई विफल बनाउन कोही पनि लाग्न नहुने बताइन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता शर्माले खेल र खेलाडी राष्ट्रका सम्पत्तिमा रहेकाले यी सम्पत्तिको विकास र उत्थानका लागि स्थानीय सरकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताइन्। गाउँपालिकास्तरीय उक्त प्रतियोगिता मङ्सिर ८ गते समापन हुनेछ। गाउँपालिकाका आठ वटै वडाका तीन खेल समूहका खेलाडीले प्रतियोगितामा सहभागी भएका छन्।
प्रकाशित: ८ मंसिर २०८२ ०६:४८ सोमबार





