३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले बाहेक अन्यले देशको नेतृत्व र रक्षा गर्न सक्दैनन्: ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको रक्षा, विकास र राष्ट्रियताको सवालमा एमाले बाहेक अन्य शक्तिले नेतृत्व गर्न नसक्ने दाबी गरेका छन्।

बुधबार झापामा राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेलाई देश बनाउने र देशको रक्षा गर्ने पार्टीको रूपमा चित्रण गरे। उनले भने, ‘यो देशको रक्षा गर्ने पार्टी एमाले हो। अप्ठ्यारो र प्रतिकूलताका बीचमा पनि हामीले काम गरेर देखाएका छौं।’

आफ्नो कार्यकालमा नेपालको नयाँ नक्सा जारी गरेको स्मरण गर्दै उनले भने, ‘हामीले नक्सा मात्र छापेनौँ, त्यो भूमि फिर्ता ल्याउनुपर्छ भनेर संविधानमै संशोधन गरेर अगाडि बढ्यौं। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा छाप्ने हिम्मत एमालेले मात्र गरेको हो।’

पार्टीभित्रको ७० वर्षे उमेर हदको विषयमा बोल्दै अध्यक्ष ओलीले यसलाई गलत रूपमा नबुझ्न आग्रह गरे। उनले अनुभव र जोसको मिश्रणबाट पार्टी चल्ने बताए।

‘कपाल फुलेकाहरूले अनुभवका आधारमा र कपाल कालो भएकाहरूले जोसका आधारमा काम गर्ने हो,’ उनले भने, ‘७० वर्ष नाघेकालाई भित्तामा टाँसिने गरी फ्याँक्ने भनेको होइन, कार्यकारी पदको सन्दर्भमा मात्र यो नियम लागू हुन्छ।’

आफ्नो नेतृत्वको सरकारले प्राविधिक शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको ओलीको दाबी छ। उनले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारण शिक्षाको नीति लिएर आफूले एक पालिका, एक प्राविधिक शिक्षालयको अवधारणा ल्याएको बताए।

‘हामीले ३९६ वटा अस्पताल एकैपटक शिलान्यास गर्यौं, ठाउँ-ठाउँमा एयरपोर्ट, झोलुंगे पुल र तुइन विस्थापन जस्ता कामहरू अघि बढायौं,’ उनले भने।

साथै, विद्यार्थीहरूलाई ल्यापटप बाँड्ने र डिजिटल नेपाल बनाउने आफ्नो योजना वर्तमान सरकारले रोकेको आरोप उनले लगाए।

प्रकाशित: ७ माघ २०८२ १६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App