नेकपा (एमाले) को सचिवालय बैठक अहिले भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी छ।
पार्टीको आन्तरिक तयारी र निर्वाचन आयोगले तोकेको समयसीमालाई ध्यानमा राख्दै एमालेले समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नाम अन्तिम रूप दिन कसरत गरिरहेको छ।
बैठकको मुख्य कार्यसूची दुईवटा विषयमा केन्द्रित छ। पहिलो, २१ फागुनमा सम्पन्न निर्वाचनको समग्र समीक्षा गर्ने र दोस्रो, समानुपातिक प्रणालीअन्तर्गत प्राप्त सिटमा पार्टीले पठाउने सांसदहरूको नाम छनोट गर्ने।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक गरेसँगै समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई तीन दिनको समयसीमा दिएको छ। सोही समयसीमाभित्र नाम बुझाउन एमालेले गृहकार्य तीव्र पारेको हो।
ओलीको निजी निवासमा जारी बैठकमा पार्टीका शीर्ष नेताहरूको उपस्थिति छ।
प्रकाशित: ३० फाल्गुन २०८२ १४:४९ शनिबार





