२१ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

सरकारले दिएको समयमा कसैले छाडेनन् होल्डिङ सेन्टर

खाली गर्न सुकुम्बासीलाई एकसाता समय थप

सुकुम्बासी तथा भूमिहीन परिवारलाई होल्डिङ सेन्टर छाड्न दिएको समय सरकारले एकसाता थप गरेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासीहरुको विवरण संकलन भइरहेकाले तत्कालका लागि सात दिनको समय थप गरिएको बताएको हो।  

आयोजनाका सदस्य सचिव तथा पूर्वाधार विकास मन्त्रालयका सहसचिव मचाकाजी महर्जनले रकम निकासा गर्न समय लागेकाले अहिलेसम्म एकजना सुकुम्बासीले होल्डिङ सेन्टर नछाडेको जानकारी दिए। विवरण संकलनको काम पनि बाँकी रहेकाले एकसाता भित्र सम्पूर्ण प्रक्रिया पूरा गरी सुकुम्बासीहरुलाई स्व–व्यवस्थापन गरी सेन्टर खाली गराइने उनको भनाइ छ। सरकारले गत सोमबार सूचना निकाल्दै पाँच दिनभित्र अर्थात् शुक्रबारसम्ममा सेन्टर खाली गर्न सुकुम्बासीलाई अल्टिमेटम दिएको थियो । 

समितिका अनुसार मनसुन सुरु भइसकेको र होल्डिङ सेन्टर खोला किनारमा रहेकाले बाढी तथा डुबानको जोखिम बढेको छ। यस्तो अवस्थामा त्यहाँ बसोबास गरिरहेका परिवारको सुरक्षालाई ध्यानमा राख्दै वर्षायाम अघि नै सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको जनाएको छ।

नगरकोट, बनेपा, कीर्तिपुर, बोडे कृषि तालिम केन्द्र, खरिपाटी, बालुजुका विभिन्न होटल र इचंगु नारायणमा रहेका ३८८ परिवारलाई होल्डिङ सेन्टर खाली गर्न भनिएको हो। सुकुम्बासी बस्ती भत्काएर होल्डिङ सेन्टरमा राखेको दुई महिना पुगेपछि सरकारले लामो समयसम्म होल्डिङ सेन्टरमा बसाइँ हुँदा परिवारहरूको दैनिक जीवन अस्तव्यस्त बन्दै गएको निष्कर्षसहित खाली गर्ने भनेको हो। मचाकाजीका अनुसार उक्त स्थान केवल अस्थायी व्यवस्थापनका लागि बनाइएको भएकाले त्यहाँ स्थायी रूपमा बसोबास गराउन सम्भव छैन।

सरकारले प्रभावित परिवारलाई पुनर्स्थापनाका लागि राहत प्याकेजसमेत घोषणा गरेको छ। यसअन्तर्गत प्रत्येक परिवारलाई कोठा खोज्न तथा प्रारम्भिक व्यवस्थापनका लागि एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। मचाकाजीले सरकारले उपलब्ध गराउने रकम लिएर आफ्नो व्यवस्थापन गर्न पुनः अपिल गरे।

प्रकाशित: १२ असार २०८३ १८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App