रास्वपा सभापति रवि लामिछानेले कसैलाई पनि उम्मेदवारीबाट वञ्चित नगराइने बताएका छन्।
चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले आफ्नो योग्यता र क्षमता अनुसार प्रतिस्पर्धा गर्ने अधिकार रहेको बताए।
सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताउँदै उनले आफ्नो विवेक प्रयोग गरेर नेतृत्व छान्न आग्रह गरे।
उनले भने, ‘कसैले महाधिवेशन प्रतिनिधि बनाएर ल्याएको छ भने उसलाई धन्यवाद दिनुहोला, भोट चाहिँ राम्रालाई दिनुहोला। तपाईँले आफू कसलाई भोट हाल्नुहुन्छ, तपाईँको कुरा हो। तर, यसलाई भोट दिनु उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन।’
यस्तै, उनले प्रतिनिधि शुल्कलाई ऐच्छिक बनाउने घोषणा समेत गरे र्। उनले पार्टीले तोकेको ५ हजार रुपैयाँ शुल्क तिर्न नसक्ने वा नचाहनेहरूले तिर्नु नपर्ने बताउदै तिरिसकेकाले पनि फिर्ता चाहेमा त्यसको व्यवस्था मिलाउन निर्देशन दिए।
यस्तै, उनले पार्टीभित्रका मतभेद र असन्तुष्टिलाई सडकमा नपुर्याई ‘एक रास्वपा, एक घण्टी’ को भावना अनुसार अघि बढ्न आग्रह गरे।
प्रकाशित: ९ असार २०८३ १६:२७ मंगलबार





