नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व असफल भएको भन्न नमिल्ने र अहिलेसम्म कसैले पनि उनको राजीनामा नमागेको बताएका छन्।
शनिबार बसेको नेकपा एमालेको सचिवालय बैठकको क्रममा सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै बस्नेतले जेनजी आन्दोलन पछि अध्यक्ष ओली सहितका शीर्ष नेताहरूको हत्या गर्ने ठूलो षडयन्त्र भएको बताएका हुन्। उनले उक्त समयमा आफूहरूले ओलीलाई गुण्डु लगायतका विभिन्न सुरक्षित स्थानमा राखेर सुरक्षा दिएको बताएका छन्।
उनले त्यसबेला युवा संघको बहानादेखि पार्टीको जिल्ला चियापान कार्यक्रम र नेश्नल भोलेन्टियर फोर्सको बहानामा अध्यक्ष ओलीलाई सुरक्षा दिएको बताएका छन्। उक्त समयमा पार्टी अध्यक्षको हत्या भएको भए क्रमशः तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङको पनि हत्या हुनसक्ने बताएका छन्।
जेनजी आन्दोलन र उक्त पृष्ठभूमिलाई जोड्दै बस्नेतले नैतिक रूपमा विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङले केपी शर्मा ओलीलाई बेठिक भन्न नमिल्ने बताएका छन्।
शुक्रबार नेकपा एमालेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनको समीक्षा गर्नका लागि एक कार्यदल गठन गर्ने प्रस्ताव गरेका थिए। सो कार्यदलको नेतृत्वका लागि रामबहादुर थापा ‘बादल’ को नाम प्रस्ताव गरिएको थियो।
निर्वाचन समीक्षाको दौरानमा विष्णु पौडेलले पार्टीको पुनर्गठन र पार्टीभित्र भएका कमीकमजोरीहरूलाई सच्याएर अघि बढ्नुपर्ने भन्दै पार्टी बहुपदीय प्रणालीमा जाने पद्धति पनि ठीक नभएको बताएका थिए।
पौडेलको उक्त विषयहरूलाई लिएर अध्यक्ष ओलीको पार्टी अध्यक्षबाट राजीनामाको माग भन्दै गर्दा बस्नेतले ओलीको बचाउ गर्दै नेतृत्व अक्षम नभएको बताएका छन्।
प्रकाशित: ९ जेष्ठ २०८३ १५:३२ शनिबार


-600x400.jpg)
-600x400.jpg)
-600x400.jpg)
