नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी महाधिवेशनले वैधानिक व्यवस्था गरेको अवस्थामा बाहेक आम सदस्यको क्रियाशील सदस्यता कसैले खारेज गर्न नसक्ने बताएका छन्।
कार्यवाहक सभापतिको हैसियतमा सोमबार विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्।
खड्काले कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्र नभई पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा भएको उल्लेख गरे। उनले १५औँ महाधिवेशनको कार्यतालिकाभित्र नवीकरण तथा वितरण भएका सदस्यता खारेज गरी पुनः अद्यावधिक गर्ने भन्नु अवैधानिक र पूर्वाग्रही भएको तर्क गरेका छन्।
खड्काले पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एक पक्षले महाधिवेशन घोषणा गर्नु बदनियतपूर्ण भएको पनि टिप्पणी गरे।
यसैबीच, महामन्त्री प्रदीप पौडेलले भने क्रियाशील सदस्यता खारेज गर्न लागिएको कुराको खण्डन गरेका छन्। उनले सदस्यता अद्यावधिक गर्न खोजिएको भन्दै सबैलाई सहभागिता जनाउन अनुरोध गरेका छन्।
विज्ञप्ति हेर्नुस्


प्रकाशित: ३० चैत्र २०८२ १३:४५ सोमबार





