प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूबाट आएका नाम उपयुक्त नभएकाले मन्त्रिमण्डल विस्तार गर्न नसकिएको बताएकी छन्। निर्वाचनको विशेष म्यान्डेड लिएर गठन भएको सरकारलाई आवश्यकताभन्दा बढी मन्त्री थप्ने छुट नभएको उनको भनाइ थियो।
नेपाल रिपब्लिक मिडियाको हरेक बुधबार राति प्रसारण हुने नागरिक फ्रन्टलाइनसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले सुरुमा ११ सदस्य बनाउने सोच बनाएपनि मन्त्रिमण्डल १२ सदस्य बनाउने समझदारी बनेको जानकारी दिइन्। तेस्रो पटक गत कात्तिक १० गते स्वास्थ्य र खेलकुद मन्त्री थपेपछि मन्त्रिमण्डल अहिले १० सदस्य बनेको छ। प्रधानमन्त्री आफैंले अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ८ वटा मन्त्रालय सम्हालेकी छन्।
यो पनि पढ्नुहोस्
जाँचबुझ आयोगले सिफारिस गरे ओलीलाई पनि कारबाही हुन्छः प्रधानमन्त्री कार्की
जेनजीबाट दुई जना प्रतिनिधिलाई राखेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको भएपनि उपयुक्त र विवादरहित नाम नआएकाले अब कसैलाई मन्त्री नबनाउने प्रधानमन्त्री कार्कीको भनाइ थियो। आफूले अन्य ७ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेपनि त्यसको नियमित कामका लागि आवश्यकताअनुसार सबै मन्त्रीसँग परामर्श गर्ने गरेको उनको भनाइ छ। मन्त्रालयको नियमित कामकारबाही कर्मचारीहरुबाट सहजरुपमा सञ्चालन भइरहेको बताउँदै उनले थप मन्त्रीको आवश्यकता नपर्ने दाबी गरिन्।
प्रधानमन्त्री कार्कीसँगको कुराकानी आज राति ७ बजे प्रसारण हुने नागरिक फ्रन्टलाइनमा सुन्न र हेर्न सक्नु हुन्छ ।
प्रकाशित: ३ मंसिर २०८२ १६:४५ बुधबार





