नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान संवैधानिक व्यवस्थाभित्र हुने निर्वाचनमा जुनसुकै दलले जिते पनि त्यो अन्ततः गणतन्त्र र आफ्नै एजेन्डाको जित हुने बताएका छन्।
पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
संयोजक दाहालले विगतका निर्वाचनहरूमा कम्युनिस्ट शक्तिले प्राप्त गरेको सफलताको स्मरण गर्दै चुनावी हारजितलाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताए।
उनले भने, ‘२०६४ सालमा तत्कालीन माओवादीले एक्लै बहुमत ल्याएको थियो। २०७४ मा हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाउँदा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएजस्तै दुई तिहाइको नजिक पुगेका थियौं।’
उनले निर्वाचनमा कहिले कांग्रेस त कहिले अरू दल ठुलो हुने उल्लेख गर्दै मुख्य कुरा प्राप्त उपलब्धिको रक्षा हुनु रहेको सुनाए।
जनयुद्ध, जनआन्दोलन र संविधानसभाको लामो सङ्घर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराउँदै उनले भने, ‘जसले जिते पनि जबसम्म यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत बसेर जित्छ, त्यो हामी सबैको जित हो। एउटा पार्टीले जित्दै गर्दा हामीले हाऱ्यौं भन्ने अर्थ लाग्दैन।’
वर्तमान व्यवस्थाले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू लगायत सम्पूर्ण सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको उनले सुनाए।
‘सबैको प्रतिनिधित्व हुने जुन सिस्टम हामीले स्थापित गर्यौं, यो सिस्टम अन्तर्गत जुनसुकै पार्टीको नामबाट जितेर आए पनि त्यो यही संविधानको मान्यता र गणतन्त्रकै जित हो,’ दाहालले थपे।
प्रकाशित: २८ चैत्र २०८२ १७:४९ शनिबार





