१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अझै जुटेन कांग्रेसमा सहमति

नेपाली कांग्रेसभित्र महाधिवेशन मिति विवादमा नेताहरू अझै सहमतिमा पुग्न सकेका छैनन्। पार्टीका सबै पक्षका नेताहरूका बिचमा साझा सहमतिमा पार्टीको १५औं महाधिवेशनको कार्यतालिका ल्याउने प्रयासमा नेताहरू विभिन्न तहको छलफलमा जुटेका छन् तर नेताहरू आआफ्नो अडानमा कायमै रहेकाले महाधिवेशनको मितिमा अझै सहमति जुटी नसकेको निकट स्रोतको दाबी छ।

स्वास्थ्योपचारपछि शुक्रबार काठमाडौं आइपुगेका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद टुंगो लगाउन नेताहरूसँगको छलफललाई तीव्र बनाएका छन्। विशेष महाधिवेशनका पक्षमा रहेका महामन्त्रीहरूका साथसाथै फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशनको पक्षमा देखिएका नेता शेखर कोइरालासहितका नेताहरूसँग सभापति देउवाका साथै कार्यवाहक सभापति पूर्वबहादुर खड्काले पनि छलफल जारी राखेका छन्। त्यसका साथै पार्टीका पूर्वपदाधिकारीहरूसँग पनि नेताहरूले छलफललाई तीव्र बनाएका छन् तर आइतबार साँझसम्म नेताहरू कुनै सहमतिमा पुग्न नसकेको निकटहरूको दाबी छ। संस्थापन पक्षका नेताहरू फागुन २१ का लागि तोकिएको निर्वाचनमा पार्टीले सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने जनाउँदै महाधिवेशन त्यसपछि गर्नुपर्ने अडानमा नेताहरू छन्।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनलाई टार्न नसकिने अडानमा रहेको र संस्थापन पक्षका अधिकांश नेताहरू फागुन २१ पछि मात्र महाधिवेशनको पक्षमा उभिएका छन्। त्यसबेलामा नियमित महाधिवेशनको पक्षमा उभिएका नेता कोइराला पुसको अन्तिम सातासम्म महाधिवेशनको पक्षमा छन्। त्यसले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावना पनि समेटिने उनले दाबी गर्दै आएका छन्।

सोहीअनुसार महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने जनाउँदै कोइरालासहितका नेताहरू दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयासमा रहेको निकट स्रोतको दाबी छ तर दुवै पक्ष आआफ्नो अडानमै रहँदा विवाद थप पेचिलो बन्दै गएको जनाउँदै ती नेताले भने, ‘दुर्घटनाबाट पार्टी जोगाउने प्रयास भइरहेको छ, हेरौं।’

पार्टी विवाद पेचिलो बन्दै जाँदा कोइराला पक्षले भने सहमतिका लागि केही लचिलो हुने संकेत गरेको छ। विशेष महाधिवेशनको पक्षधर र निर्वाचनपछि महाधिवेशनको अडानमा दुवै पक्ष रहँदा पार्टी संकटमा परेको भन्दै पुसमा महाधिवेशन सुरु गरेर निर्वाचनपछि बाँकी तहका अधिवेशन गर्ने सहमतिको अर्को प्रयासमा रहेको नेताहरूको दाबी छ।

निर्वाचनअघि नै नयाँ नेतृत्वको पक्षमा रहेका कोइराला पक्षकाहरू गर्दागर्दै पार्टीका सबै तहको अधिवेशन सकिएन भने विकल्पका रूपमा पुस महाधिवेशन सुरु गर्ने र सकिएन भने बिचमा रोकेर चुनावपछि बाँकी महाधिवेशन गर्न पनि सकिन्छ। ‘पुस मसान्तबाट महाधिवेशन सुरु गर्ने र फागुन २१ नै निर्वाचन हुने भयो भने केही समय यसलाई स्थगित गरेर चुनावमा लागौं’, निकट स्रोतले भन्यो, ‘चुनावपछि बाँकी महाधिवेशनका प्रक्रिया सक्ने गरी जान सकिन्छ।’

त्यसले विशेष महाधिवेशन, नियमित महाधिवेशन वा चुनावपछि महाधिवेशन भन्ने पार्टीका सबै विचारलाई सम्बोधन गर्ने जनाउँदै निकट स्रोतले भन्यो, ‘विशेष महाधिवेशन पनि नगर्ने र मत विभाजन पनि हुन नदिने तर पुस अन्तिमसम्म महाधिवेशन सुरु गरौं। त्यो नै सहमतिको आधार हुन्छ।’

भदौ २४ गते भौतिक आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा असोज २८ गते पार्टी केन्द्रीय समितिको बैठकमा सार्वजनिक भएका थिए। स्वास्थ्यको कारण देखाउँदै उपसभापति खड्कालाई उनले कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका थिए। कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका देउवा शुक्रबार काठमाडौं उत्रिएका हुन्।

पार्टी विवाद पेचिलो बन्दै गएपछि छलफल थालेका सभापति देउवा पार्टीभित्रको बृहत् एकताका पक्षमा रहेको जानकारी दिँदै निकट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘सोही सेरोफेरोमा रहेर सभापतिले छलफल अगाडि बढाउनुभएको छ। पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजान सकिन्छ भन्ने मात्र उहाँको चिन्ता देखिन्छ।’

भदौ २४ पछि फेरिएको राजनीतिक अवस्थाबारे निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक गत असोज २८ देखि सुरु भएको थियो। बिहीबार बोल्ने क्रम सकिए पनि महाधिवेशनको मिति विवाद पेचिलो बनेपछि कांग्रेस बैठक सर्दै आएको छ। केन्द्रीय समितिको आगामी बैठक बिहीबारका लागि सरेको छ।

प्रकाशित: १ मंसिर २०८२ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App