४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

नीशा अधिकारी भन्छिन् : महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन, लोकतन्त्र बलियो हुँदैन

गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं-५ बाट प्रतिनिधिसभा उम्मेदवार नीशा अधिकारीले महिलालाई अपमान गरेर लोकतन्त्र बलियो नहुने स्पष्ट पारेकी छिन्। 

सामाजिक सञ्जालमार्फत उनले अनलाइनमा आफूमाथि आएका अपमानजनक टिप्पणीहरूप्रति कडा आपत्ति जनाउँदै यस्तो बताएकी हुन। 

उनले लेखेकी छन्, ‘महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरूले महिलाको हैसियत होइन, हाम्रो समाजमा गहिरो गरी जरा गाडेको महिला-विरोधी सोच प्रतिबिम्बित गर्छ। यस्तो भाषा असहमति होइन। यो बहस होइन। यो शक्ति र डरबाट जन्मिएको, महिलालाई सार्वजनिक जीवनबाट हटाउन, डराउन र चुप गराउन प्रयोग गरिने हिंसा हो।’

नीशाले यो व्यवहार आफूमाथि मात्र नभई राजनीतिमा सक्रिय सबै महिलाहरूमाथि लक्षित रहेको उल्लेख गरेकी छिन्। उनी अगाडि लेख्छिन्, ‘आज ममाथि आएका यस्ता टिप्पणीहरू एक्लै म माथि लक्षित छैनन्। यी सबै ती महिलामाथि लक्षित छन् जो राजनीतिमा छन्, जो नेतृत्वमा छन्, जो बोल्ने आँट गर्छन्।’

समर्थकलाई सम्बोधन गर्दै उनले घृणाभन्दा धेरै ठुलो शक्ति, आशा र एकता भएको तर्क गरेकी छिन्।

उनले भनेकी छिन्, ‘महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन। लोकतन्त्र बलियो हुँदैन। समाज अगाडि बढ्दैन।’ उनले आफू हामी चुप नलाग्ने स्पष्ट पार्दै पछाडि नहट्ने उल्लेख गरेकी छिन्। उनले आफू सम्पूर्ण महिलाको अधिकार, सम्मान र बराबरीको लडाइँमा रहेको तर्क समेत गरेकी छिन्। 

हेर्नुस् उनको फेसबुक स्टाटस
महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरूले महिलाको हैसियत होइन, हाम्रो समाजमा गहिरो गरी जरा गाडेको महिलाविरोधी सोच प्रतिबिम्बित गर्छ। यस्तो भाषा असहमति होइन। यो बहस होइन। यो शक्ति र डरबाट जन्मिएको, महिलालाई सार्वजनिक जीवनबाट हटाउन, डराउन र चुप गराउन प्रयोग गरिने हिंसा हो।
आज ममाथि आएका यस्ता टिप्पणीहरू एक्लै म माथि लक्षित छैनन्। यी सबै ती महिलामाथि लक्षित छन् जो राजनीतिमा छन्, जो नेतृत्वमा छन्, जो बोल्ने आँट गर्छन्। 
म मेरा समर्थकहरूबाट आएको अपार माया, विश्वास र ऐक्यबद्धताले धेरै नै आभारी छु। त्यो समर्थनले नै देखाउँछ कि घृणाभन्दा धेरै ठूलो शक्ति, आशा र एकता हो। तर म यति स्पष्ट भन्न चाहन्छु: 
"महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन। लोकतन्त्र बलियो हुँदैन। समाज अगाडि बढ्दैन।"
म आज सार्वजनिक जीवनमा रहेका, चुनाव लडिरहेका, वा केवल आफ्ना विचार राखिरहेका सबै महिलाहरूसँग दृढ ऐक्यबद्धता व्यक्त गर्छु,  जो अहिले अनलाइन दुर्व्यवहार र घृणाको सामना गरिरहेका छन्।
हामी चुप लाग्ने छैनौँ। हामी पछाडि हट्ने छैनौँ।
किनकि यो केवल मेरो लडाइँ होइन, यो सम्पूर्ण महिलाको अधिकार, सम्मान र बराबरीको लडाइँ हो। 
"जब महिला अघि सर्छ, तब देश अघि बढ्छ!" 
नीशा अधिकारी 
उम्मेदवार, काठमाडौँ - ५ 
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
गतिशील लोकतान्त्रिक पार्टी
चुनाव चिन्ह: ब्याट्रि

प्रकाशित: २५ माघ २०८२ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App