२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

नयाँ दललाई ‘थ्रेसहोल्ड’को चिन्ता, एकल चुनाव चिन्हमार्फत ‘सुरक्षा कवच’ को खोजी

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा होमिने तयारीमा रहेका नयाँ पुराना दललाई ‘थ्रेसहोल्ड’ को चिन्ता पनि देखिन थालेको छ। विशेष गरी पुराना दलभन्दा नयाँ दलमा यसको चिन्ता अझ बढी देखिएको छ। 

थ्रेसहोल्डको त्रासमा रहेका दलहरूले त्यसबाट जोगिन दुई वा दुई भन्दा बढी दल मिलेर ‘एकल चुनाव चिन्ह’सहित निर्वाचनमा जाने रणनीति सुरु गरिसकेका छन्। निर्वाचन आयोगले निर्वाचन प्रयोजनमा दल दर्ताको लागि दिएको समय यसअघि नै सकिए पनि थपेर मंसिर १४ गतेसम्म पु¥याइएको छ। निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा ‘एकल चिन्ह’ लिएर चुनावमा जाने दलहरूको सङ्ख्या पनि बढ्दो छ।

दलहरूले एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाने रणनीति लिनुमा मुख्य चुनौती  थ्रेसहोल्डलाई नै लिएका छन्। राजनीतिक दल सम्बन्धी ऐनअनुसार प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ न्यूनतम ३ प्रतिशत मत प्राप्त गरे मात्रै थ्रेसहोल्ड पूरा हुन्छ। नभए तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दल समानुपातिक मतअनुसारको सिट पाउनबाट वञ्चित हुन्छन्। यसबाहेक भविष्यमा एकता गर्नेसम्मको रणनीतिअनुसार पनि दलहरूले एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जो रणनीति लिएको दाबी गरेका छन्। 

ऊर्जा मन्त्री कुलमान घिसिङको समर्थनमा नयाँ खुलेको उज्यालो नेपाल पार्टी र दलित अधिकार अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाने घोषणा गरेका छन्। 

हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले नयाँ राजनीतिक दलबिच एकता हुनुपर्ने मान्यताकाले उक्त निर्णयमा पुगेको बताए। उनले भने, ‘मुख्य रूपमा नयाँ राजनीतिक दलहरूबिच एकता कायम गर्नु र जनताको विश्वास गुमाएका पुराना दलहरूलाई सामूहिक रूपमा चुनौती दिनु हाम्रो उद्देश्य हो।’ आफूले टुक्रा–टुक्रा समूहमा विभाजित भएर चुनावमा जानुभन्दा एउटै दल भएर अघि बढ्नु उपयुक्त ठानेको पनि बताए। 

यस्तै नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जन जागृत पार्टी पनि एकल चुनाव चिन्ह नै लिएर निर्वाचनमा जाने भएका छन्। बहुजन एकता पार्टीका नेता हरि नन्दन कुमारले थ्रेसहोल्ड प्रणालीको सामना गर्न र राजनीतिक रणनीतिका लागि आफूहरूले एकल चुनाव चिन्ह लिएर जाने रणनीति लिएको बताए। 

‘थ्रेस होल्डमा नयाँ पार्टी तथा विचारधारालाई स्थापित हुन नदिने एक किसिमको बाध्यात्मक व्यवस्था छ। त्यसलाई सामना गर्न पनि हो,’ उनले भने, ‘त्यसबाहेक उत्पीडित तथा अधिकारबाट वञ्चित जनताको संवैधानिक अधिकार सुनिश्चित गर्न विचार मिल्ने दलसँग मिलेर अगाडि बढ्न पनि जरुरी देखेकाले यस्तो निर्णय गरिएको हो।’ 

एकल चुनाव चिन्हमा लड्दा विचार फेनै पर्छ भन्ने नभएको उनले बताए। ‘विचार र उद्देश्य आ आफ्ना हुन्छन्। विशेष गरी समानुपातिक प्रतिनिधित्व गर्नको लागि र अहिलेको चुनावको प्रयोजनको लागि मात्रै अस्थायी रूपमा एकल चुनाव चिन्हमा जान लागेको हौँ,’ सुनारले भने। 

अर्कातिर राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र रेसम चौधरीको दल नागरिक उन्मुक्ति पार्टी नेपाल पनि एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका छन्। 

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका नेता केशवकुमार झाले एजेन्डा मिल्ने दलहरू छुट्टाछुट्टै निर्वाचन लड्दा समानुपातिक मत खेर नजाओस् भनेरै एकल चुनाव चिन्हमा निर्वाचनमा जान लागेको बताए। ‘हाम्रो उद्देश्य त पार्टी एकता नै गरेर जाने र वैकल्पिक शक्ति बन्ने थियो। तर समय पुगेन,‘निर्वाचनपछि तीन वटै पार्टी एकीकरणमा जाने र संसदीय दल एउटै बनाउने हाम्रो योजना छ।’

प्रकाशित: ११ मंसिर २०८२ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App